खोटाङ असोज–३०, खोटाङका राजनीतिक दलले आगामी संसिर १० र २१ गते तोकिएको प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्दता जनाएका छन् । निर्बाचन प्रचार–प्रसार लगायतको गतिबिधि गर्दा निर्बाचन आयोगले तोकेको आचारसंहिता पालना गर्न जिल्लास्थित सक्रिय राजनीतिक दलका तर्फबाट प्रतिबद्दता जनाएका हुन् । 
जिल्ला प्रशासन कार्यालयमा हालै बसेको सर्बदलीय बैठकमा दलका तर्फबाट हुने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको लागि चुनाबी प्रचार–प्रसार तथा गतिबिधि गर्दा आफ्नो चुनाब चिन्ह अंकित टि–सर्ट,  झोला, गम्छा, सल, खदा जस्ता सामाग्रीहरु बितरण नगर्ने उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीको अध्यक्षतामा बसेको बैठकबाट आचारसंहिता पालना गर्न तथा गराउन वा आचारसंहिता उल्लङ्घनमा निरुत्साहित गर्न  दलहरुले लिखित प्रतिबद्दता जनाएका हुन् ।  
यसअघि सम्पन्न निर्बाचनमा पनि आचारसंहिता पालना गर्ने भनिए पनि सबै जसो दलले उल्लेखित आचारसंहिता उल्लंघन गरेका थिए । जिल्ला निर्बाचन कार्यालयमा जम्मा १२ वटा राजनीतिक दल दर्ता भएका छन् ।