खोटाङ असोज–३०, खोटाङमा बालिकाको शरीर बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १४ बर्षिया बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने उदयपुरस्थित त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।

खोटाङमै ट्याक्टर चलाउँदै आएका कटवालले विवाहको प्रलोभन देखाएर लामो समयदेखि जबरजस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाई राखेको भन्दै पीडित बालिकाको आमाले दिएको उजुरीको आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

हिरासतमा राखिएका कटवालविरुद्ध जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कटवालले गल्ती स्विकार गरिसकेको जनाईएको छ । 
जिल्लाका उत्तरी क्षेत्रकी पीडित बालिकाको आमाले दिक्तेलस्थित कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटवाललाई रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नासाथ २९ गते नै जिल्ला अदालत खोटाङमा लगेर पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका कटवालले गत भदौ २३ गते बालिकालाई घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ । गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको सिकार बनेकी बालिका नौं दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन् ।

पीडित बालिकाको छिमेकी एक महिलाले ललाइफकाइ कटवालसँग सम्पर्क गराइ दिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य सुरु गरिएको प्रनाउ थापाले बताए ।