केदार मगर/खोटाङ,
असोज–३१, चाडवाड तथा निर्वाचनको समयमा हुन सक्ने अप्रिय घटनालाई न्यूनिकरण गर्न खोटाङमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । तिहार तथा छट पर्व र नजिकिँदै गरेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको हो ।
जिल्लाको मुख्य नाका तथा व्यापारिक केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती टोली आज (मङ्गलबार)बाट चौबीसै घण्टा परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । “चाडवाडको समयमा चोरी, ठगी तथा मादक पदार्थ सेवनबाट हुने घटना बढी हुन्छ ।” उहाँले भन्नुभयो, “त्यस्ता अप्रिय घटनालाई न्यूनिकरण गर्न उच्च सुरक्षा व्यवस्था लागू गरिएको हो ।”
जिल्लामा हुने अप्रिय घटनालाई तत्कालै समाधान गर्न जिल्ला प्रहरी कार्यालयको १०० नम्बरको हटलाईन टेलिफोनलाई चौबीसै घण्टा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । उक्त हटलाईनमा संकलित जानकारीको आधारमा थप सुरक्षाकर्मी परिचालन गरेर अप्रिय घटनालाई न्यूनिकरण गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।
दश बजेभन्दा पछि देउसी भैलो नखेल्न आग्रह
तिहारको अवसरमा आयोजना गरिने देउसी÷भैलो कार्यक्रम राति दश बजेभन्दा बढी समय नगर्न जिल्लावासीलाई प्रशासनले आग्रह गरेको छ । राति अबेरसम्म आयोजना गरिने कार्यक्रममा सुरक्षा दिन नसकिने भन्दै दश बजेभन्दा अगाडि नै सबै कार्यक्रम सम्पन्न गर्न प्रशासनले आग्रह गरेको हो ।
तिहारको अवसर पारेर जिल्लामा एकादशीसम्म देउसी÷भैलोका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने चलन छ । विभिन्न संघसंस्थाले आयोजन गर्ने कार्यक्रममार्फत संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने चलन छ ।
जबरजस्ती चन्दा माग्नेलाई कारबाही हुन्छ
चाडवाडको समयमा विभिन्न बहाना बनाएर सर्वसाधारणलाई जबरजस्ती चन्दा माग्ने व्यक्ति तथा संस्थालाई कडा कारबाही गर्ने प्रशासनले निर्णय गरेको छ । कतिपय व्यक्ति तथा संघसंस्थाले यसअघि तोकेरै चन्दा माग्ने गरेको पाइएकाले यस वर्ष त्यस्ता व्यक्ति तथा संघसंस्थालाई कारबाही गर्ने निर्णय गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।
जबरजस्ती चन्दा माग्ने व्यक्ति तथा संघसंस्थाको नाम हटलाईनमार्फत जानकारी गराउन पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ । जबरजस्ती चन्दा लिने व्यक्ति तथा संघसंस्थालाई ठगी मुद्दा दर्ता गरेर कारबाही गरिने जनाइएको छ ।