खोटाङ, ५ कातिक । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि खोटाङमा दश राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको छ । । उम्मेदवारी दर्ता गराउनेमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टीबाट र मङ्गोल नेश्नल अर्गनाइजेशन रहेको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस किशोर घिमिरेका अनुसार देशको ठूलो दल एमालेबाट प्रतिनिधिसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व सांसद विशाल भट्टराईले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा वैकल्पिक केन्द्रीय सदस्य राजन राई र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्व सभाषद् रामकुमार राई (पासाङ)को उम्मेदवारी दर्ता भएको छ ।
प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा काङ्ग्रेसबाट प्रतिनिधिसभाका लागि पूर्व सांसद् सरस्वति बजिमय र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट युवा नेता सुवाशकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट पूर्व जिल्ला सभिापति बिष्णुकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नविन राई र क्षेत्र २ बाट टंक थापाले उम्मेदवारी दिनुभएको छ । एक्लै चुनावी मैदानमा उत्रिएको नयाँ शक्ति नेपालबाट प्रतिनिधिसभाका लागि मदन राई तथा प्रदेशसभामा क्षेत्र नम्बर १ बाट मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट मणि राईले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभाका लागि विश्वास राई, राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट धर्मराज पोखरेल र राष्ट्रिय जनमुक्ती पार्टीबाट गोकर्ण राईले उम्मेदवारी दिनुभएको छ । नेकपा मालेबाट क्षेत्र नम्बर १ बाट नेत्रबहादुर कटुवाल र क्षेत्र नम्बर २ बाट कुलप्रसाद शर्मा फुयाँलले उम्मेदवारी दर्ता गराउनुभएको छ । मालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी परेको छैन ।
मङ्गोलियन नेश्नल अर्गनाइजेशनबाट बीरलाल राईले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएको छ । जिल्लामा सबै दलले उम्मेदवारी दर्ताका लागि छुट्टाछुट्टै समय लिएपनि चुनावी तालमेल गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएको हो ।
उम्मेदवारी दर्ता गर्न जानुअघि एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको नेपाली काँग्रेसले नाराजुलुससहित बजार परिक्रमा गरेको थियो । अन्य दलले भने, आ–आफ्नो पार्टी कार्यालयबाट ब्यानरसहित उम्मेदवार लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । तस्बिर उपलब्ध छ ।