प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उनी २४ औँ मुख्य सचिव बनेका हुन् । रेग्मी २०७० साउनमा सचिवमा बढुवा भएका थिए ।
मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश लिँदै छन् । बैठकले शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
यसैगरी बैठकले ङइन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, मोहन कृष्ण सापकोटा गृह, रेश्मीराज पोण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ ।
त्यसैगरी विष्णु ओम बाँडेलाई सह–सचिवबाट सचिवमा बढुवा गरिएको छ भने शिक्षा सचिव शेषनाथ अधिकारी र भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलको राजीनामा बैठकले स्वीकृत गरिएको छ ।
बैठकले भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई तत्कालका लागि जिम्मेवारी दिएको छ । बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकस्थित भूकम्पपीडितका लागि ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।
नेपाल सरकार र युरोपियन युनियनबीच निर्वाचनको परिवेक्षणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निणयसमेत बैठकले गरेको छ । लाइभ स्टक्स सेक्टर इनोभेसन प्रोजेक्टका लागि विश्व बैंकबाट ८० मिलियन डलर ऋण सहायता लिने सम्झौतासम्बन्धी वार्ताका लागि टोली गठन गर्ने अख्तियारी दिने निर्णय बैठकले गरेको जनाएको छ ।
त्यस्तै “चिकित्सा शिक्षा अध्यादेशका बारेमा सहमति भएको छ, छलफल गरेर निर्णयमा पुग्न बाँकी छ, अर्कोपटकमा यसबारेमा निर्णय हुन्छ”, प्रवक्ता बस्नेतले भने ।