लिला निरौला/खोटाङ
कात्तिक–१२, बैदेशिक रोजगारीको लागि १० बर्ष अघि कतार गएका खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सुर्जमणी राई ९ बर्षदेखि सम्पर्कबिहिन बनेका छन् । एजेण्टलाई एक लाख ७ हजार रुपैंयाँ बुझाएर २०६५ सालमा १८ बर्षकै उमेरमा कतार गएका राई २०६६ सालदेखि सम्पर्कबिहिन बनेको वुवा ज्ञानबहादुर राईले बताउनुभयो ।
८ जना छोराछोरीमध्ये घरको जेठो छोरो सुर्जमणीले घरपरिवारलाई फोनमार्फत केही दिनमा १५ हजार रुपैंयाँ पठाईदिन्छु भन्ने खबर गरेलगत्तै बेपत्ता बनेको परिवारको भनाई छ । १४ बर्षकै उमेरमा बिहे गरी एक छोराको बावु समेत बनेका राईले कतार पुगेकै साल काम–दाम राम्रो छैन भनी खबर गरे पनि के काम र कति कमाई भन्ने नसुनाएको उनको बुवा ज्ञानमणी बताउनुहुन्छ ।
निम्न आर्थिक स्थितिका कारण बिदेशिएका राई ८ बर्षसम्म पनि सम्पर्कमा नआएपछि उनकी श्रीमतिले पनि २ बर्ष अघि घर छोडेर हिँडेको परिवार सुनाउँछन् । परिवारका अनुसार सुर्जमनीको श्रीमतिले छोरालाई माईतिमा छाडेर हिँडेकी हुन् ।
पठाउने एजेण्टको मृत्यु, बेपत्ताको फोटो समेत छैन
बिना सीप तालिम सुर्जमणीलाई कतार पठाउने एजेण्टको पनि मृत्यु भएपछि छोराको खोजी गर्न झन् समस्या भएको ज्ञानमणीको भनाई छ । एजेण्ट भईन्जेल केही सोधीखोजी गर्न सजिलो भएको भए पनि हाल एजेण्टको मृत्यु हुनका साथै छोराको कागजपत्र केही पनि नभएकोले खोजी गर्ने बाटै हराएको पीडा घरपरिवारसँग छ । परिवारको साथमा एक प्रति फोटो समेत नभएको आमा लालहीरा सुनाउनुहुन्छ । एउटा फोटो भएको पनि छोराको सोधीखोजी गर्न बिदेशबाट फर्किएकालाई देखाउन लैजाँदा फिर्ता नगरेकोले त्यत्तिकै हराएको लालहीराको दुखेसो छ ।
छोराको खोजीमा साथ दिन घरपरिवारको अनुरोध छ ।