खोटाङ कात्तिक–१३, आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर चुनावी गठबन्धन गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्लामा संयुक्त प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । निर्वाचनपछि पार्टी एकता गर्ने लक्ष्यका साथ बाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले सोमबारबाट संयुक्त प्रशिक्षण तथा अन्तरघुलन अभियान शुरु गरेको हो । 
प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभाको दुवै क्षेत्रमा एकैसाथ प्रशिक्षण तथा चुनावी अभियान शुरु गरिएको गठबन्धन नेता एवम् काओवादी केन्द्रका सचिवालय सदस्य होमकाजी आचार्य (विनोद)ले जानकारी दिनुभयो । जिल्लामा बाम गठबन्धनको संयुक्त कार्यालय समेत खोलेर चुनावी अभियानमा लागेको दुवै दलले सोमबार जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको बराहपोखरीमा, हलेसी चुवाचुङ नगरपालिकाको दुर्छिम र लामीडाँडा गाउँपालिकाको कुभिण्डेमा संयुक्त प्रशिक्षण तथा अन्तरघुलन कार्यक्रम गरेको हो । 
बराहपोखरीमा आयोजना गरिएको कार्यक्रममा प्रदेशसभा २ का उम्मेदवार तथा पूर्व सभाषद् रामकुमार राई (पासाङ), संयुक्त चुनाव परिचान समिति संयोजक एवम् एमाले उपाध्यक्ष राम दंगाल, माओवादी नेता दिपक पाण्डे (आकाश), इन्द्र दंगाल, दिपक ढकाल, राजन ढकाल, एमाले नेता जलशेर राई, गणेश कोइराला, देवी रेग्मी लगायतले प्रशिक्षण दिनुभएको जनाइएको छ । हलेसी चुवाचुङ नगरपालिकाको दुर्छिममा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद् टंक राई, प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व सांसद विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार राजन राई, माओवादी नेतृ तथा पूर्व सभाषद् समिता कार्की (अस्मिता), एमाले नेतृ तथा पूर्व सभाषद् उषाकला राई,  माओवादी केन्द्रका नेता अमेम्बर राई लगायतले दुवै पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको बाम गठबन्धनले जनाएको छ । 
लामीडाँडा गाउँपालिकाको कुभिण्डेमा आयोजना गरिएको कार्यक्रममा प्रतिनिसभा सदस्यका उम्मेदवार विशाल भट्टराई, प्रदेशसभा सदस्यका उम्मेदवार राजन राई, संयुक्त चुनाव परिचालन समितिका संयोजक एवम् पूर्व सभाषद् दुर्गाजयन्ती राई, एमाले नेतृ एवम् पूर्व सभाषद् उषाकला राई, एमाले नेता हरि पोखरेल, माओवादी नेता सुरेश राई लगायतले प्रशिक्षण दिएको जनाइएको छ । गठबन्धनका उम्मेदवारलाई कुनै पनि हालतमा विजयी गराउने लक्ष्यका साथ चुनावी अभियानमा लागेको दुवै पार्टीले मङ्गलबार दिप्रुङ गाउँपालिका पञ्चमीबजार, साकेला गाउँपालिकाको मानेभञ्ज्याङ, केपिलासगढी गाउँपालिकाको बाक्सिला, रुपाकोट मझुवागढी नगरपालिका–११ को खार्मी र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 
संयुक्त प्रशिक्षणको कार्यक्रम सकिएलगत्तै कात्तिक १६ गतेबाट क्षेत्र नम्बर १ को बाक्सिला र दुईको दोर्पाबाट चुनावीसभा शुरु गरिने गठबन्धनका नेता एवम् एमाले उपसचिव कुमार आचार्यले जानकारी दिए । कुल एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका लागि दश राजनीतिक दलका नेताले भाग लिएका छन् ।