खोटाङ १८ कात्तिक
खोटाङमा वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराउन नेपाली कांग्रेस खोटाङले दुई दललाई ‘फुटाउ र भड्काउ’ रणनीति अवलम्बन गरेको छ ।
एमाले र माओवादी केन्द्रले देशभर चुनावी तालमेल गरेपछि खोटाङमा नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनको आधारमा प्रतिनिधिसभातर्फ १४ हजार भोट अन्तरले पछाडी छ ।
वाम दुई दलले चुनावी तालमेल गरेपछि पछि परेको कांग्रेसले आफ्ना उम्मेदवार जिताउने अस्त्रका रुपमा एमाले र माओवादीलाई फुटाउने, भड्काउने र दुई दलभित्र किचलो सिर्जना गरेर भोट तान्ने रणनीति बुनेको हो ।
कांग्रेसलले प्रदेशसभा क मा राजन राईलाई हराउन निवर्तमान सांसद पाँचकर्ण राई (पिके) राईलाई समेत प्रयोग गर्ने रणनीति लिएको पाइएको छ । कांग्रेसले पिकेलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजन राईले जितेमा तिम्रो राजनीतिक भविष्य नै पछाडी पर्ने भन्दै राजन राईलाई हराए मात्र आफ्नो राजनीतिक भविष्य रहने नत्र राजनीतिमा राजनले जितेर तिम्रो फ्युचरमा नै असर पर्ने भनेर भ्रम छरिरहेको स्रोत बताउँछ ।
 त्यसो त प्रदेश क मा तालमेलका कारण माओवादी केन्द्रका उम्मेदवार नभएकाले कांग्रेसले माओवादी केन्द्रको भोट तान्न विभिन्न प्रलोभन देखाउने रणनीति समेत बनाएको स्रोत दाबी गर्छ । कांग्रेसले प्रदेश क मा सुवास पोखरेललाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट भने एमालेका तर्फबाट राजन राई उम्मेदवार छन् । स्थानीय तहको निर्वाचनको मतपरिणामा आधारमा राजन राई कांग्रेस उम्मेदवार पोखरेल भन्दा ठूलै मतान्तरले अगाडी छन् ।
यता, प्रदेश ख मा भने कांग्रेसले एक भोट विशाल भट्टराईलाई अर्को भोट विष्णुलाई भनेर भोटको सट्टेबाजीको प्रचार गरेर जित्ने नीति अघि सारेको छ । स्थानीय जनता सामु कांग्रेस नेता कार्यकर्ताले आफूहरुले विशाललाई जिताउने भन्दै अर्को भोट विष्णुलाई दिनुपर्ने भनेर वाम गठबन्धनभित्र खेलिरहेको पाइएको हो । प्रदेश ख मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट रामकुमार राई (पासाङ) उम्मेदवार छन् भने कांग्रेसले विष्णु कुमार राईलाई उम्मेदवार बनाएको छ । पासाङलाई खोटाङबासीले इमान्दार चरित्रका व्यक्तिका रुपमा लिने गर्दछन् । उम्मेदवार विष्णु राई यसअघि उनकै निर्वाचन क्षेत्र च्यानडाँडा १ स्थित एक ७३ वर्षिया वृद्धामाथि बोक्सीको आरोपमा भएको किटपिट घटनामा आरोपीलाई छुटाउन मुद्धा कमजोर बनाउन दबाब दिएको विषयमा उनको पनि नाम जोडिएको थियो ।
यसैगरी, खोटाङ कांग्रेसले प्रतिनिसभातर्फ पनि वाम गठबन्धन दललाई कमजोर बनाउन वाम दल एमाले र माओवादी केन्द्रभित्र भड्काउने, फुटाउने तथा विभिन्न प्रलोभन दिने गरी रणनीति तय गरेको छ । यतिबेला वाम गठबन्धन दल, कांग्रेस लगायत सबै दल र उम्मेदवार चुनावी सभा समारोहमा समेत भ्याई नभ्याईमा छन् ।