कात्तिक–१९ खोटाङ, किराती इतिहास र सभ्यतासँग गाँसिएको मुन्दुमको बिषयमा पहिलो पटक ‘मुन्दुमी साँस्कृतिक बिमर्श’ सम्पन्न भएको छ । किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा “ किरातीको मुल धार, मुन्दुमी सभ्यता मुख्य आधार” भन्ने नारा सहित मुन्दुम ः के हो ? र कति प्राचिन हो ? भन्ने बिषयमा प्राज्ञिक बहस सम्पन्न भएको हो ।
सुमिनमा कल्चर एकेडेमी ललितपुरमा शनिबार सम्पन्न बिमर्शमा मुन्दुम अध्येता भोगिराज चाम्लिङले मुन्दुम सम्बन्धी कार्यपत्र प्रस्तुत गरेपछि करिब ६ घण्टा बढी बृहत रुपमा बहस भएको थियो । कार्यपत्रमाथि डाक्टर (मानब शास्त्र) डम्बर चेम्जोङ, साहित्यकार, शिश्लेषक तथा राजनीतिज्ञ विश्वभक्त दुलाल(आहुती) र किरात राई यायोक्खाका पूर्ब केन्द्रीय अध्यक्ष सहप्राध्यापक चतुरभक्त राईले टिप्पणी गरेको आयोजक किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय सदस्य पदम थुलुङ राईले जानकारी दिए ।
थुलुङका अनुसार कार्यक्रमबाट मुन्दुम करिब १२ हजार बर्ष पुरानो भएको केही प्रमाणसहितको अनुमान निष्कर्षको रुपमा निकालिएको थियो । टिप्णीकारहरुले मुन्दुम अध्येता चाम्लिङको कार्यपत्र उत्कृष्ट भएको जनाउँदै मुन्दुमलाई सटिकमा बुझ्दा सामाजिक संबिधान, दर्शन, बसाईंसराईको इतिहास तथा मानब र प्रकृतिबीचको सम्बन्ध भएको उल्लेख गरे ।
कार्यपत्रमाथि किरात राई साँस्कृतिक कलाकार संघको संस्थापक अध्यक्ष जीतेन राई, किरात राई प्रज्ञा परिषदका कूलपति जयकुमार राई, डाक्टर नेत्रमणी राई, डाक्टर खगेन्द्र राई, डाक्टर तारामणी राई, साँस्कृतिक कलाकर्मी नारदमणी हार्तम्छाली लगायतले आफ्ना धारणा राखेका थिए । आयोजक संस्थाका अध्यक्ष जनक राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा हरीके साम्पाङ, कबिराज राई, गणेश वाम्बुले, राम थुलुङ, शान्तिदेवी राई र रजत राईले मुन्दुमप्रतिको धारणा ब्यक्त गरेका थिए । बक्ताहरुले आयोजक संस्थाले ‘मुन्दुमी साँस्कृतिक बिमर्श’ कार्यक्रम आयोजना गरेकोमा सह्राहना ब्यक्त गरे । यस्तो कार्यक्रम अति सान्दर्भिक र आवश्यकीय रहेको बक्ताहरुको भनाई थियो ।
कार्यक्रममा यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राई, कलाकार संघका पुर्ब अध्यक्ष पार्बती राई, साहित्यकार बिरेन्द्र राई,साँस्कृतिक अभियन्ता, कबि तथा गीतकार खुक्सङ खम्बु लगायत डेढ सय बढी बिषय बिज्ञहरुको सहभागिता थियो ।