कात्तिक–२० खोटाङ,  सूचना  र सञ्चारको अभावबाट परेको पछौटेपनाको अन्त्य गर्ने अभियान स्वरुप खोटाङमा पहिलो पटक सामुदायिक रेडियो सञ्चालन गर्न कस्सिने एक अभियन्ता टंक थापा चुनाबी मैदानमा उत्रिएका छन् । २०६४ सालबाट प्रशारण शुरु भई दक्षिण एसियाकै नमुना सामुदायिक रेडियोको रुपमा छबि बनाउन सफल रुपाकोट सामुदायिक रेडियोका पुर्वस्टेशन मेनेजर थापा प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् । 
आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि पुर्वस्टेशन मेनेजर थापा संघीय समाजबादी फोरम नेपालका तर्फबाट खोटाङ क्षेत्र नम्बर २ मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।  ‘सञ्चारको अभाव नै अविकास’को कारण मान्दै २०६३ सालदेखि २०७२ सालसम्म रुपाकोट रेडियोका स्टेशन मेनेजरको भूमिका सम्हालेका थापा राज्यमा सबै जाति, क्षेत्र, लिंग, बर्गको समान अधिकार र समान सहभागीताको ग्यारेन्टीका लागि चुनावी मैदानमा आएको बताउँछन् । ‘नेपालमा जातीय, क्षेत्रीय, लिंगीय, बर्गीय लगायतका बिभेद छ, उत्पीडनमा परेका समुदाय छन्,’ ४४ वर्षिय थापाले भने,–‘हरेक नियकायमा तिनै वर्गको समान अधिकार र समान सहभागीताको सुनिश्चितता गराउने लक्ष्यका साथ चुनावी मैदानमा आएको छु ।’ पहिचान सहितको संघीयतालाई व्यवहारमा उतार्ने, संबिधानमा रहेका कमी÷कमजोरीलाई सुधार गर्दै संबिधानलाई जनताको पक्षमा पूर्ण बनाउने, व्यवहारमा देखिने गरी धर्मनिरपेक्ष राज्यको स्थापनामा पहल गर्ने लगायतका चुनावी एजेण्डा लिएर थापा चुनावी अभियानमा उत्रिएका हुन् । बिशेष गरी पचासौ हजार युवाहरुलाई रोजगारीको सिर्जना गर्नका लागि आफ्नो उम्मेदवारी आवश्यक ठहरिएको थापाको भनाई छ । कुनै बेला रेडियोका लागि समाचार र विज्ञापन माग्दै डुल्ने थापा अहिले भोट माग्दै गाउँ–गाउँ डुलिरहेका छन् । 
२०४७ साल बैसाखबाट अनेरास्वबियु महेन्द्रोदय माबि ओख्रेमा प्रारम्भिक कमिटिको उपाध्यक्षबाट राजनीति सुरु गरेका थापा २०७१ सालबाट संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । २०४९ देखि २०५३ सम्म तीन कार्यकाल अखिलको जिल्ला अध्यक्ष, २०५१ सालमा एमाले निकट विद्यार्थी संगठनका तर्फबाट दिक्तेल बहुमुखी क्याम्पसको स्ववियू सभापति, २०५३ सालमा एमालेको जिल्ला सदस्य, प्ररायू संघको जिल्ला अध्यक्ष, २०४८ सालमा एमालेका जिल्ला सचिव बनेका थापा लामो समयसम्म राजनीतिभन्दा बाहिर बसेर पुनः संघीय समाजबादी फोरमबाट राजनीतिलाई निरन्तरता दिएका हुन् । 
थापाले रुपाकोट रेडियोलाई दक्षिण एसियामै सबैभन्दा बढि शेयर भएको रेडियोका रुपमा स्थापित गर्न भूमिका निर्वाह गरे । उनकै पहलमा रुपाकोट रेडियोबाट विभिन्न भाषा÷भाषिका समाचार तथा कार्यक्रम प्रशारण सुरु गरिएको थियो । हाल पार्टीका किरात प्रदेश समिति सदस्य एबं जिल्ला उपाध्यक्ष रहेका थापाले दिक्तेल बहुमुखी क्याम्पसमा केही समय अध्यापन समेत गरेका थिए । ‘जसरी पनि चुनाव जित्ने’ प्रबृत्तिका बिरोध गर्दै चुनावी अभियानमा सामेल भएको उम्मेद्वार थापाले बताए । ‘चुनावको गलत प्रयोग भइरहेको छ । चुनाव भनेको स्वार्थपुर्ति गर्ने माध्यम हो, जसरी पनि जित्नुपर्छ भन्ने गलत मान्यता स्थापित छ,’ थापाले भने, ‘हामी त्यसको बिरोधी हौँ ।’