खोटाङ कार्तिक–२०, खोटाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मत दिने मतदाता अलमलमा परेका छन् । निर्वाचन मिति नजिकिए पनि आवश्यक मतदाता शिक्षा कार्यक्रम समयमा सञ्चालन नहुँदा अधिकांश मतदाता अलमलमा परेका हुन् । 
निर्वाचन मिति नजिकिए पनि दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छैन । निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि सञ्चालन गरिने मतदाता शिक्षाको अभावमा मतदातामा अस्पष्टता र मलमल देखिएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । 
निर्वाचन सम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ हुँदा मतदाता अलमलको अवस्थामा रहेको एमालेका जिल्ला उप–सचिव कुमार आचार्यको भनाई छ । जिल्ला निर्वाचन कार्यालयले भने कार्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने जनाएको छ । अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।