खोटाङ कार्तिक–२१, खोटाङमा यो वर्ष २० प्रतिशतले अलैंची उत्पादनमा बृद्धि भए पनि कृषक भने निरास छन् । रोग किरा नलागेको र नयाँ बिरुवाले उत्पादन दिन सुरु गरेकाले यस आर्थिक वर्ष अलैंची उत्पादनमा बृद्धि भए पनि उचित मुल्य नपाउँदा अलैंची कृषक निरास बनेका हुन् ।
आर्थिक वर्ष २०७३÷०७४ मा ४ सय ४० मेट्रिक टन (११ हजार मन) अलैंची उत्पादन भएको यस जिल्लामा यस वर्ष ६ सय ३६ दशमलब ६ मेट्रिक टन अलैंची उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय खोटाङका बागबाणी अधिकृत कौशलकुमार यादवले बताउनुभयो । जिल्लाका १ हजार ६ सय ४ हेक्टरमा अलैंची खेति लगाइएकोमा १ हजार ६१ हेक्टरमा लगाइएको अलैंचीले मात्र उत्पादन दिएको हो । पुरानो बोटमाभन्दा नयाँ बोटमा अलैंचीको दाना बढि लागेको अलैंची कृषकको भनाई छ ।
कुनै बेला प्रतिमन १ लाखको हाराहारीमा किनबेच भएको मसला, जडीबुटी तथा औषधिका रुपमा प्रयोग गरिने अलैंचीको मुल्य घटेर हाल प्रतिमन २२ हजारदेखि २६ हजारमा झरेको कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा ५ सय ४० मेट्रिक टन र आर्थिक वर्ष २०७२÷०७३ मा ५ सय ६४ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । उचित मुल्य नपाउँदा तयारी अवस्थाका अलैंची हालसम्म किसानको भण्डारणमै थन्किएका छन् ।