खोटाङ कार्तिक–२२, खोटाङमा मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणका लागि जिल्लाका पत्रकार, प्रहरी लगायतबीच सचेतनामुलक अन्तरक्रिया गरिने भएको छ । मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणका लागि बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले जिल्लाका छापा तथा विद्युतीय सञ्चार माध्यममा कार्यरत पत्रकार, प्रहरी, मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणका पक्षमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि र अधिकारकर्मीलाई सहभागी गराएर सचेतनामुलक अन्तरत्रक्रिया गर्ने निर्णय गरेको हो ।
मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणमा पत्रकारिता, प्रहरी लगायतको महत्वपूर्ण भूमीका रहने भएकाले पत्रकार, प्रहरी, अधिकारकर्मी लगायतलाई सहभागी गराएर सचेतना अभिबृद्धिमुलक अन्तरक्रिया गर्ने तयारी गरिएको हो । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि सचेतनामुलक कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त कार्यालय प्रमुख भुवन राईले बताउनुभयो ।
तराईसँगको यातायात सम्पर्क, शिक्षाको कमी, बेरोजगार लगायतका समस्या कारण जिल्लाका युवायुवती तथा बालबालिका बेचबिखनको जोखिममा रहेको तथ्यलाई ध्यानमा सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
बैठकले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय महिला तथा बालबालिका बिभागबाट प्राप्त ९ हजार रुपैयाँ पीडितको सहयोगार्थ पुर्नस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।