खोटाङ कात्तिक–२३, आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा आवश्यक निर्वाचन सामग्री हेलिकोप्टरमार्फत ल्याइएपछि  निर्बाचन  तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत बिहिबार मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकाबारा लगायत निर्वाचन सम्बन्धी आवश्यक सबै सामग्री जिल्ला ल्याइए पछि तयारी अन्तिम जरणमा पुगेको बताईएको छ । 
एक लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा निर्बाचन कार्यालयको तर्फबाट गर्ने काम लगभग सकिएको तथा केन्द्रबाट ल्याउनुपर्ने सबै निर्वाचन सामग्री समेत आएपछि तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।  
आगामी निर्वाचनका लागि जिल्लामा १ सय ७९ मतदान केन्द्रमार्फत मतदान हुने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । जिल्लामा कायम रहेको १ सय ३६ मतदानस्थलमध्ये २८ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । निर्वाचन अवधिभर खोटाङमा एक हजार ८ सय बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको बताईएको हो ।
दश राजनीतिक दलका नेताले उम्मेदवारी दिएको जिल्लामा सबै दलका नेता, कार्यकर्ता तथा उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगेका छन् । प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा वाम गठबन्धनका साझा उम्मेदवार भट्टराई र नेपाली काँग्रेसको उम्मेदवार सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुने जिल्लाबासीको अनुमान छ ।