खोटाङ कात्तिक–२५, पार्टी एकता गर्ने लक्ष्यका साथ चुनावी तालमेल गरेका वाम गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्र खोटाङको भातृ संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनबीच एकीकरण हुने भएको छ । शनिबार सदरमुकाम दिक्तेलबजारमा बसेको दुवै शिक्षक संगठनको संयुक्त बैठकले मातृ पार्टी एकीकरण नभएको खण्डमा आफूहरु भातृ संगठनको रुपमा बस्न नसक्ने भन्दै आगामी निर्बाचनपछि दुवै संगठनबीच एकता गर्ने निर्णय गरिएको जनाएका छन् ।
बैठकमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदाता शिक्षा सञ्चालन गर्ने, मातृ पार्टीलाई एकताका लागि दबाब दिने र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने समेत निर्णय गरिएको एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।
दुवै शिक्षक संगठनका अध्यक्ष संयोजक रहने गरी संयुक्त चुनाव परिचालन तथा मतदाता शिक्षा सञ्चालन समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव टंक कटवालको भनाई छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पालिकास्तरको उपसमिति समेत गठन गरिएको जनाइएको छ ।
एक लाख २५ हजार १ सय ८३ जना मतदाता रहेको जिल्लामा आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा दश राजनीतिक दलका उम्मेदवारले भाग लिएका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लामा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने जिल्लाबासकिो ठहर छ ।