खोटाङ कार्तिक–२५, आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । शुक्रबार एक दिने बिशेष तालिम दिएर जिल्लास्थित दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वटै वडामा मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयमसेवकलाई गाउँ–गाउँमा खटाई मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।
१ सय ७९ मतदान केन्द्र रहेको जिल्लामा १ सय ७९ जना नै मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई मतदाता शिक्षाका लागि खटाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । शनिबारदेखि खटिएका तालिम प्राप्त मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई मंसिर १० गतेसम्मै फिल्डमा खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एलजीसीडीपीका सामाजिक परिचालक, बालबिकास केन्द्रका सहयोगी कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेबिका लगायतलाई प्रशिक्षक तालिम दिएर मतदाता शिक्षा कार्यक्रममा खटाइएको हो । निर्वाचन आयोगको नमूना मतपत्र, पर्चा, पम्प्लेट, ब्रुसर लगायतका सामग्री बोकेर मतदाता शिक्षा स्वयंसेवक गाउँ खटिएका छन् ।