बिनिता राई/खोटाङ
कात्तिक–२७, खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालन गरिएको वित्तिय साक्षरता कक्षाका सहभागीहरुले खुत्रुके बचत शुरु गरेका छन् । बैदेशिक रोजगारीमा जाने परिवारको घरमुली अर्थात बिप्रेषण प्राप्त गर्ने ब्यक्तिलाई प्रदान गरिने बित्तिय साक्षरता कक्षाका प्रभावले गर्दा नै खुत्रुकै बचत गर्न शुरु गरेको सहभागीहरुले बताएका हुन् । 
कक्षाको एउटा श्रृंखला ‘बिपन्नता र यसको अवस्था, तत्कालको प्रभाव र सम्पन्नता प्राप्तिको बाटो’ शीर्षकमा छलफल भए पश्चात एक समुहको २० जना सहभागीले खुत्रुके किनेर बचत शुरु गरेको बताईएको छ ।  खुद्रा तथा चानचुने पैसाहरु वचत गर्न साथै वालवालिकाहरुलाई पनि सो सम्वन्धी व्यवहार सिकाउन खुत्रुके वचत शुरुवात गरिएको   नगरको ५ नम्बर वडामा पर्ने लफ्याङस्थित सक्रिय छार्का बरडाँडा वित्तीय समुहका सहभागी पार्वती थापाले जानकारी दिनुभयो ।  उक्त समूहका सदस्यहरुले यसअघि नै बैङ्क, सहकारी तथा लघुवित्त लगायतका बित्तिय संस्थाहरुमा पनि वचत गर्दै आएका छन् । 
सुरक्षित आप्रवास परियोजना (सामी) मार्फत वालसेवा समाज नेपाल नेर्पा खोटाङले जिल्लाका अन्य स्थानमा जस्तै रुपाकोट मझुवागढी नगरपालिकास्थित तीन वडाभित्रका १५ वटा स्थानहरुमा बित्तिय साक्षरता कक्षा सञ्चालन गरिरहेका छन् । कक्षामा वित्तिय साक्षारताको अवधारणा बचत, बचत योजना, लगानी, परिवार व्याबस्थापन, वित्तिय लक्ष्य निर्धारण, व्याबसायिक योजना, वैदेशिक रोजगार, वीमा, लघु व्यबसाय आदिका बिषयमा छलफल हुने गर्दछ । 
प्रत्येक हप्ताको १ दिन  गरी २८ हप्ता सम्म सञ्चालन हुने वित्तिय साक्षरता कक्षामा उत्साहजनक सहभागिता रहँदै आएको लफ्याङका वित्तिय साक्षरता सहजकर्ता मिन प्रशाद आचार्यले जानकारी दिए ।