खोटाङ मंसिर–१४, मोफसलमा लुकेर रहेका गायन प्रतिभाको खोजी गर्ने उदेश्यले खोटाङमा गायन प्रतियोगिता ‘खोटाङ आइडल’को तयारी गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित परिवर्तन नेपालको आयोजनामा दुई नगर र ८ गाउँपालिकामै पुगेर गायन प्रतिभाहरुको खोजी, पहिचान तथा छनौट गर्ने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । 
बिहिबार सदरमुकाममा रहेको हलेसी साप्ताहिकको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा साकेला गाउँपालिकाको रतन्छाबाट मंसिर २३ गतेदेखि छनौट अडिसन शुरु गरिने जनाईएको छ । चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५ सय ७४ का साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवसर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताउनुभयो । यस्तै, दोश्रो हुने प्रतिभाले नगद २४ हजार ५ सय ७४ का साथमा ३ महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड, तथा तेश्रो हुने प्रतिभालाई नगद १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, बेस्ट भोकललाई नगद दुई हजार ५ सय ७४ का साथमा प्रभाणपत्र प्रदान गरिने जानकारी दिइएको छ । 
आगामी मंसिर–२३ गते रतन्छा, मंसिर–२५ गते दिप्रुङ गाउँपालिकाको पञ्चमी, मंसिर– २७ गते खोटेहाङ गाउँपालिकाको खोटाङबजार, मंसिर–२९ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानी, पुस–१ गते बराहपोखरी गाउँपालिकाको साउनेचौर, पुस–५ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, पुस–८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, पुस–१० गते लामीडाँडा गाउँपालिकाको खार्पा, पुस–१२ गते हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, पुस–१४ गते रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा र पुस–१७ गते सदरमुकाम दिक्तेलमा छनौट चरणको अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल फागुन अन्तिम सातामा गरिने जनाईएको छ ।