खोटाङ मंसिर–२०, खोटाङमा कडा सुरक्षाबीच बिहिबार बेलुका ७ बजेबाट प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनको मत गणना सुरु गरिने भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बेलुकाको खाना खाएपछि मत गणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।  
साँझ पाँच बजेभित्र उम्मेदवारको मत गणना प्रतिनिधि नियुक्त गरिसक्ने र बेलुकाको खाना खाएपछि मत गणना थाल्ने निर्णय गरिएको हो । मत गणनाका लागि तार जालीले बारेर चार वटा कोठा तयार पारिएको छ । हरेक दुई घण्टामा मत गणनाको परिणाम सार्वजनिक गर्ने गरी गणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  
मत गणनास्थलमा प्रवेश पाएका उम्मेदवार वा प्रतिनिधि, गणनामा खटिएका कर्मचारी, अनुगमनकर्ता, पत्रकार लगायतलाई सुरक्षाकर्मीले अदालतको गेट, भवनको मुल ढोका र मत गणनास्थानमा उक्लने सिँढीमा चेक गर्ने व्यवस्था मिलाइएको छ । मत गणनास्थलमा रहेका जुनसुकै व्यक्तीलाई सुरक्षाकर्मीले खानतलासी गर्नसक्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।