रामधन राई/खोटाङ,
मंसिर–२३,  खोटाङमा प्रतिनिधिसभा सदस्य निर्बाचनमा वाम गठबन्धनका उम्मेद्वार बिशाल भट्टराईले ११ हजार बढी मतान्तरले अग्रता लिनुभएको छ । एमालेका उम्मेदवार भट्टराईले करिब ५३ हजार  अर्थात ७५ प्रतिशत मत गणना भईसक्दा २८ हजार ६ सय ४३ मत ल्याउँदै ११ हजार ३ सय ६ मतले कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयलाइ पछि पार्नुभएको हो । निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार बजिमयको भने १७ हजार ३ सय ३७ मत आएको छ ।
कुल खसेको मत ७१ हजार १ सय ९१ मध्ये प्रतिनिधिसभातर्फकै उम्मेदवार  नयाँ शक्ति नेपालका मदन राईले १८ सय ४१ र संघीय समाजबादी फोरमका कृष्णकुमार राईले १७ सय ४६ मत प्राप्त गर्नुभएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका बिश्वास राई २ सय ५, राप्रपा प्रजातान्त्रिकका धर्मराज पोखरेलले १ सय ४८, राष्ट्रिय जनमुक्ती पार्टीका गोकर्ण राई ५७, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका महेश बास्तोलाले ५४, मंगोल नेशनल अर्गनाइजेसनका बीरलाल राईले ६२ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गणेश राईले ३६ मत ल्याउनुभएको छ ।
यस्तै, प्रदेशसभा (क)मा वाम गठबन्धन लोकतान्त्रिक भन्दा ३ हजार ७ सय ५४ मतले अघि छन् । प्रदेशसभा (क) मा एमालेका राजन राईले १५ हजार १ सय ९३ मत र कांग्रेसका सुवासकुमार पोखरेलले ११ हजार ४ सय ९ मत पाउनुभएको छ । संघीय समाजबादी फोरमका नविन राईले ८ सय ५४, राजपाका तुलसीकुमार राईले १ सय २२ र नेकपा मालेका नेत्रबहादुर कट्वालले ६ सय ६० मत प्राप्त गर्नुभएको जनाईएको छ ।
यस्तै,  प्रदेशसभा (ख) मा माओबादी केन्द्रका रामकुमार राई ५ हजार ७ सय ७ मतका साथ अगाडि हुनुहुन्छ । राईले १६ हजार ५ सय ४० मतका साथ अग्र स्थानमा रहनुभएको छ भने कांग्रेसका विष्णुकुमार राईले  १० हजार ८ सय ३३ पछ्याइरहनुभएको छ । संघीय समाजबादी फोरमका टंक थापाको १६ सय २६ र नेकपा मालेका कुलप्रसाद फुयाँलको ९ सय ५ मत रहेको छ ।