खोटाङ पौष–२, खोटाङस्थित ऐसेलुखर्क गाउँपालिका—१ राखावाङदेलका रत्नबहादुर जोगीले वैदेशिक रोजगारीमा गएको छोराको मलेसियामै मृत्यू भएपछि पाउने आर्थिक सहायताका लागि १० बर्षसम्म दौडधुप गर्नुभयो । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामाको व्हेलको ईन्डस्ट्रीमा कार्यरत छोरा खेमराज जोगीको उतै मृत्यू भएपछि पाउने आर्थिक सहयोगको लागि जोगीले  दौडधुप गर्नुभएको हो ।
छोरा खेमराजको २०६५ भदौमा काम गर्ने क्रममै मेसिनमा च्यापिएर मृत्यु भएको थियो । छोराको मृत्यू भएपछि मलेसियामा गरिएको बिमा बापतको रकम पाउनका लागि आवश्यक पर्ने ‘एच’ फारम भरेर पटक–पटक पठाउनुभयो । एच फारम भर्न र पठाउनै मात्र  ४-५ पटक काठमाण्डौं पुगेको जोगीको भनाई छ ।
सहयोग रकमकै आशामा कयौं पटक काठमाण्डौ ओहोर–दोहोर गर्नुभएको जोगी भन्नुहुन्छ-‘१० बर्षमा त कति गईयो, कति आईयो हिसाबै छैन ।’ निरन्तर फारम भरेर पठाउँदा पनि कुनै सकरात्मक प्रतिक्रिया नआएपछि उहाँले जिल्लामा सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी काम गर्ने सुचना तथा परामर्श केन्द्रबाट पनि परामर्श लिनुभयो । कमजोर आर्थिक अवस्थाका जोगीले छोरा फर्केर नआउने भए पनि प्रक्रियाले पाउने आर्थिक सहायताका लागि जिल्लाका पत्रकारहरुलाई समेत गुहार्नुभयो ।
सबैबाट पाउने सहयोग र सल्लाह पाउनु नै भयो तर जे पाउनका लागि अहोरात्र दौडनुभयो त्यही सहयोग रकम भने पाउन सक्नुभएको थिएन ।
परराष्ट्र मन्त्रालयका कर्मचारीले समेत आफूहरुलाई जानकारी नभएको भनेपछि जोगी २०७० सालमा जोगी फेरि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रमा आउनुभएको परामर्शकर्ता अम्बिका दाहाल बताउनुहुन्छ ।
सूचना केन्द्रको सहयोगमा फेरि पनि एच फारम भरेर कम्पनीमा पठाउनका साथै निरन्तर फलोअप गरिदिएपछि भने बल्ल कम्पनीले आर्थिक सहायता रकम उपलब्ध गराएको परामर्शकर्ता दाहालको भनाई छ । कम्पनीले गरिदिने बिमा वापतको रकम रत्नबहादुरको नाममा २ लाख ९३ हजार र सीतामाया जोगीको नाममा २ लाख ९३ हजार रुपैयाँ रकम हालै उपलब्ध गराएको हो ।
  जोगी भन्नुहुन्छ-‘अब त आसै मारिसकेको थियो ।’ छोरा गुमाउनुको पीडामाथि सहयोग रकमको लागि धाउँदाको तनाबमा परेको जोगी पटकौं काठमाडौं धाउँदाको खर्च हात परेको बताउनुहुन्छ । भन्नुहुन्छ-‘छोरो त फर्किंदैन नै कम्पनीले काठमाडौ धाउँदाको खर्चचाहिँ पठाइदिएछ ।’
मृतक खेमराज घरको जेठा छोरा थिए । रत्नबहादुर जोगीको कान्छो छोरा पनि छन् । कान्छो छोरो अफ्ठुयारोमा रहेको बताउनुहुन्छ-‘ बिदेश जानु मनले त मान्दैन तर के गर्नु, दाई बिदेश जाँदा देखिकै ऋण छ ।’