अदालतको अपहेलना आरोपमा प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीले अदालतमा ३ करोड नेपालीको स्वास्थ्य र जीउधनप्रति खेलबाड भइरहेकाले यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु आफ्नो मेरो कर्तव्य भएको बताएका छन् ।

सर्वोच्च अदालतले मंगलबार डा। गोविन्द केसीको वयान लिएको छ । १४ वटा प्रश्न समेटिएको वयान केसीले यस्तो जवाफ दिएका हुन् । हेर्नुहोस् बयानको पूर्णपाठ
 १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् ?
जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा. गोविन्द केसी हो । पेशाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ ।
२ः हजुरको स्वास्थ्य स्थिति के कस्तो छ ? कुनै शारीरिक र मानसिक रोग छ छैन ? आज इजलाससमक्ष वयान दिन सक्नुहुन्छ या हुँदैन ?
जवाफः म हिजोदखि अनसनमा रहेको हुँदा मुटुको धड्कनमा आफूलाई महसुस हुने बढेको छ । छाती दुखेको छ । अरु कुनै शारीरिक र मानसिक रोग छैन । वयान दिन सक्छु ।
 ३ः तपाई आज यस सर्वोच्च अदालतमा किन उपस्थित हुनु भएको हो ?
जवाफः मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो मलाई थाहा दिइएको छैन र पनि तपाईले सोधेको प्रश्नको जवाफ दिन तयार छु ।
४ः हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नु भएको छ छैन ?
जवाफः छ
५ः यस प्रतिवेदनमा पेश भएको समाचार सामाग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ, यो व्यहोरा तपाईको हो होइन ? तपाईले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईलाई लाग्छ लाग्दैन ? बताई दिनुहोस् ।
जवाफः अनलाइन र सेतोपाटीलगायतका खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ र प्रेस विज्ञप्ति मिति २०७४।९।२४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुनेगरी अशिष्ट, अमर्यादित तवरले प्रकाशित गरेको होइन । अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरेजस्तो मलाई लाग्दैन ।
६ः तपाईले के कति आधार र कारणबाट यस्तो अभिव्यक्ति दिनुभएको हो ?
जवाफः श्री सर्वोच्च अदालतका समान्नित प्रधानन्यायाधीश श्री गोपालप्रसाद पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।
सवाल ७ः तपाईले सवाल ६ को जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्यहरुले न्यायालयको मानमर्दन भएको भन्नुभयो । यसको पुष्टि गर्ने आधारहरु केही छ ? खुलाई दिनुहोस् ।
जवाफः यसमा मैले भन्नुपर्दा प्रेस विज्ञप्तिमा -पाना ४) उल्लेख भएका मुद्दाहरु नै मेरा आधार र कारण प्रष्ट्याउन पर्याप्त छन् । सो का अलावा पाना २ को मिति २०७४।९।२५ को दस्तावेजको विवरण पेश गरेको छु, त्यसले वास्तविकता प्रष्ट्याउनेछ । अनलाइनबाट प्राप्त ३ प्रति नागरिकता समेतको प्रतिलिपि पेश गरेको छु । सोलाई आधार मानी पाउँ । सो नागरिकता सम्माननीय प्रधानन्यायधीशको हो ।
८: अदालतले संविधान कानून र न्यायका मान्य सिद्धान्त अनुसार न्याय सम्पादन गर्दछ भन्ने तपाईलाई थाहा छ छैन ? अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजायँ समेत हुन्छ भन्ने तपाईलाई थाहा छ छैन ? खुलाई दिनुहोस् ।
जवाफः अदालतको अवहेलनामा सजायँ हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु । अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन ।
९ः तपाईले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायधीश भनी उल्लेख गर्नुभएको छ । यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुनेखालको हैन र ? हजुरको यस्ता शब्दले अदालतको सम्मान हुन्छ ?
जवाफः यसको जवाफका लागि आधार र कारणसहित कागजात सावाल ७ मा पेश गरेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना होइन सम्मान मिल्छ ।
१०ः तपाईले अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुका कारण के हो ? प्रष्ट पार्नु हुन्छ कि ?
जवाफः मैले अदालतप्रति सम्मान व्यक्त गर्दछु । मैले पेश गरेको प्रकरण ७ अर्थात जवाफमा पेश गरेका कागजात नै पर्याप्त छ, मैले भावननाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुन्छ । अशिष्ट र लाञ्छनायुक्त छैन ।
११ः तपाई नागरिक समाजको अगुवा भन्नुहुन्छ । अदालतको आदेश वा फैसलाउपर पुनरावेदन, पुनरावलोकन गराउनेतर्फ तपाईले के गर्नुभयो ? के तपाईले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो ?
जवाफः म नागरिक समाजको अगुवा भनेर कहिले पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकन लगायतका कानूनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वस्थ्य आलोचना मात्र गरी अदालत लगायत समाज घच्घच्याएको हुँ ।
१२ः के तपाईको चाहना अदालतको मुद्दामा तपाईले नै भनेवमोजिम फैसला हुनुपर्छ भन्ने हो ? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो ? खुलाई दिनोस् ।
जवाफः न्याय सम्पादन राम्रो हुनुपर्दछ । न्याय सबैले पाउनुपर्दछ । मेरो पक्षमा मात्र फैसला हुनुपर्दछ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृतिहरु भित्रिएको देखेर शुद्धीकरणको लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन ।
१३ः मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिका विरुद्ध अमुख मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनु हुँदैन भन्ने दायित्ववोध तपाईलाई छ छैन ?
जवाफ- मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै यो मेरो प्रयास हो । मैले दिएका अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्नेगरी संविधानप्रदत्त स्वस्थ्य रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन । लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो ।
१४ः यस सवाल १ देखि १४ सम्म पढीबाची सुनाइन्छ कि यसविषयमा तपाईको अरु भन्नु केही छ कि ?
जवाफः मेडिकल कलेज सम्बन्धी सुधारको लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सा मा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाहरुले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकाली अनसन बस्नु परेको हो । यो वयानको क्रममा समेत अनसनमा छु । मलाई सुधारको प्रयास गर्दा गर्दै यसरी एक्कासी प्रहरीको सहयोग लिई अदालत समय वयानका लागि ल्याइएको छ । यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई ३ करोड नेपालीको स्वास्थ्य र जीउधनप्रति खेलबाड भइरहेकाले यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायलयविरुद्ध होइन ।
गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने आर्दशवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्वन्धी विवाद, चूडामणिसम्वन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्वन्धी लगायतका क्रियाकलाप गर्दा न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने हो । म उपर लगाएको आरोप झुठ्ठा हो । मैले अदालतको अवहेलना गरेको छैन । निज सम्माननीय प्रधानन्ययाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याई कारवाही गरी न्यायालयको गरिमाको वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ । (अनलाइन खबरडटको सहयोगमा)

यसरी पक्राउ परेका थिए डा. केसी भिडियोमा हेर्नुहोस्