काठमाडौं ३ माघ
नेपालले आगामी वर्षदेखि बचत भएको बिजुली बेच्न सक्ने भएको छ । आगामी वर्षदेखि नेपालमा वर्षातको समय (वेट सिजन) मा विद्युत् बचत हुने भएको छ

सन् २०१८/१९ देखि वर्षातको ६ महिना विद्युतको माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत बचत हुने भएको हो । जसका कारण भारतबाट बिजुली आयात गर्नुपर्ने नेपालको बाध्यता हट्ने नयाँ पत्रिकामा खबर छ ।

अर्को वर्षदेखि नै वर्षायाम (वैशाखदेखि मंसिरसम्म) मा विद्युत मागको तुलनामा आपूर्ति बढी हुने देखिन्छ । सो विद्युत स्वदेशमा नै खपत गराउन नेपाल सरकारले नीतिगत हस्तक्षेप गरी ऊर्जा खपत प्रवर्द्धन हुने कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने अध्ययनले देखाएको छ ।

राष्ट्रिय योजना आयोगले वर्षायाममा बढी हुने विद्युत ऊर्जा बैंक मोडेलमा भारतलाई दिई सुख्खायाममा नेपाललाई नै उपलब्ध हुने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।