देशमा पछिल्लो समयमा हत्या हिंसा तथा अपहरण जस्ता क्रियाकलापको श्रृङ्खलाहरु बढ्दै गएको अवस्थामा सँस्कृतिमाथी पनि विचलन आउन थालेको छ ।  विभिन्न ठाउँमा धार्मिक, सामाजिक तथा साँस्कृतिक रुपमा द्वन्द्वले प्रश्रय पाउने खालका क्रियाकलापहरु समाजमा फस्टाउँदै गएका छन् ।
पूर्व पहाडी जिल्ला खोटाङमा त्यहाँका केही युवाहरुले गोरु काटेर खान थालेका छन् ।
  त्यसरी गोरु काटेर खाँदा हाम्रो सँस्कृतिमाथि प्रहार भएको भन्दै त्यसको विरोधमा नै आवाज नउठे पनि स्थानीयहरु आतंकित बन्न थालेका छन्  ।
खोटाङमा गोरु काट्दै गर्दा पक्राउ गरेको अभियोगमा त्यहाँका आदिवासी जनजातिहरुले हिजो मात्रै त्यहाँ पुनः गोरु काटेर भोज खाएका छन् ।
यस अघि गोरु काट्दै गर्दा त्यस क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको थियो भने हिजो गोरु काटेर भोज खाएको ठाउँमा भने प्रहरी प्रशासनको उपस्थिति थिएन । गोरु काटेर खाएको बारे जानकारी नभएर नगएको प्रशासनले जनाएको छ ।
गोरु काट्दै गरेको अवस्थामा गत पुस१ गते पक्राउ परेका दिक्तेल-२ का दिपेश श्रेष्ठ र नबीन गुरुङ, दिक्तेल(६ का रामचन्द्र राई र खार्मी-७ का कर्णबहादुर तामाङलाई अदालतले पुस-१२ गते तारेखमा छाडेको थियो । उनीहरुले गोरु काटेको नभइ मरेको गोरुको मासु खाएको बयान दिएका छन् ।
नेपालको मुलुकी ऐन अनुसार गाई वा गोरु काट्नेलाई  जरिवानासहित १२ वर्षसम्म कैदको सजाय हुन सक्ने उल्लेख छ । 
तर यस्तो क्रियाकलापमा संलग्नहरुले खोटाङमा आफ्नो परम्परागत संस्कार सँस्कृति मान्न पाउने हक दिएको भन्दै गोरु काट्न पाउनु पर्ने माग राख्दै संघर्ष समेत थालेका छन् ।
यस्तो क्रियाकलापले खोटाङबासीहरु भने धार्मिक साँस्कृतिक पक्ष अब लोप हुने भन्दै दुःखित बन्न थालेका छन् । यसरी जसले जे पनि गर्न थाल्ने हो भने देशमा धर्म र संस्कृतिको रुपमा द्वन्द्व बढ्ने भन्दै खोटाङबासीहरुद्वारा सरकारसमक्ष यो घटनाबारे ध्यान पुर्याउन माग राखेका छन् ।