मेचीकाली डटकम – नेपालमा जुनसुकै बेला पनि विनाशकारी भुइँचालो जाने र त्यसले धेरै क्षति पुर्याउने विज्ञहरूको भनाइका आधारमा खोटाङको एक गाउँका समुदाय त्रसित बनेका छन् । भूकम्प जाने हल्लाको भरमा याम्खा–१, बार्लङका समुदाय विगत एकहप्तादेखि बारीको डिलमा पाल टाँगेर सुत्ने गरेका छन् ।
    स्थानीय शिक्षक प्रेमकुमार खत्रीले यस गाउँका करिब डेढ सय घर परिवारले गाईगोठ र बारीमै रात बिताउने गरेको बताउनुभयो ।

    बेलुकी सबेरै खाना खाएर उनीहरू सुत्नको लागि पाल टाँगेको ठाउँतिर जाने गरेका शिक्षक खत्रीले बताउनुभयो ।
    गाउँगाउँमा सूचनाको पहुँच पुग्न नसकेको र रेडियोबाट प्रसारण हुने सामग्रीकै प्रभावले समुदाय चिन्तित बनेका हुन् । रेडियो र टेलिभिजनबाट सकारात्मक सन्देश प्रवाह गर्ने प्रकारका सामग्री बज्ने गरे पनि समुदायले नकारात्मक तरिकाले बुझेपछि गाउँलेहरू त्रासदीपूर्ण दिन बिताउन बाध्य भएका हुन् ।