इलाममा हुने पूर्वाञ्चल क्षेत्रीय फुटबल प्रतियोगिता खेल्न गएको खोटाङको फुटबल टिम चढेको गाडीमा मंगलबार मोरङको पथरीस्थित चारकोसे जंगलमा हरिण पस्दा तीन खेलाडी घाइते भएका छन् ।

प्रहरीका अनुसार ल्यान्डरोभर गाडीको अगाडि भागबाट अचानक सिसा फुटाएर हरिण भित्र पसेको थियो । घाइते हुनेमा युवराज राई, सोभित राई र पाण्डव राई छन् । सोभित र पाण्डवको सिसाले टाउको र निधार काटेको छ भने युवराजको आँखामा सिसाको टुक्रो पसेको छ ।

टिम कोच सागर राईका अनुसार सोभित र पाण्डवको टाउकोमा ७-७ टाँका लगाइएको छ । युवराजको आँखामा पसेको सिसाको टुक्रा बुधबार शल्यक्रिया गरेर निकाल्ने तयारी भइरहेको छ । उनको गोल्छा आँखा अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको गाडीको अगाडि भागको सिसा फुटाएर अचानक हरिण छिरेको थियो । (साभार)