दमन राई/ खोटाङ – जिल्ला परिषद नजिकिदै गर्दा पूर्वी पहाडी जिल्ला विकास समिति खोटाङले विभिन्न विषयगत कार्यालयहरुबाट आएका योजनाहरुलाई थपघट गर्दै जिल्लाको योजनाहरुको प्रस्तावित खाका तयार पारेको छ ।

जिल्ला विकास समितिले शिक्षा, स्वास्थ्य, संचार, उद्योग, खानेपानी तथा सरसफाई, सिँचाई लगायतका विभिन्न विषयगत कार्यालयहरुबाट छनौट भएर आएका योजनाहरुलाई समेटेर योजनाको प्रस्ताबित खाका तयार पारेको  हो ।

जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला बिकास समितिका प्रतिनिधि र कृषि वन तथा वातावरण, जनसंख्या तथा सामाजिक, पूर्वाधार तथा संरचना र जलश्रोत तथा भूमी समितिका संयोजकहरु सम्मिलीत योजना तर्जुमा गोष्ठीबाट जिल्लाको विषयगत योजनाहरुको खाका तयार गरिएको हो ।

आगामी फागुन–१९ गते हुने जिल्ला परिषदबाट सार्वजनिक गर्नेगरी पाँच दिनसम्मको छलफल र मेहनतपछि जिल्लाको विषयगत योजनाहरुको खाका तयार गरिएको जिल्ला विकास समिति खोटाङका योजना अधिकृत दिनेशकुमार तिम्सिनाले बताए ।

गत फागुन–१ गतेदेखि पाँच दिनसम्म लगाएर तयार पारिएको योजनाको खाकालाई आगामी–११ गते हुने एकीकृत योजना तर्जुमा समितिको बैठकले हेरफेर गर्दै प्राथमिकीकरण गर्ने छ । ११ गते प्राथमिकीकरण गरिने योजनाहरुलाई पुःन आगामी फागुन– १२, १३ र १४ गते हुने जिल्ला बिकास समिति बोर्डको बैठकले जिल्लाको वार्षिक योजनाकारुपमा अन्तीमरुप दिने र १९ गते सार्वजनिकीकरण गर्ने जिल्ला विकास समिति खोटाङले जनाएको छ ।

सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा भएको योजना तर्जुमा गोष्ठीमा जिल्लाका १३ वटा ईलाकाबाट संकलन भएका योजनाहरुलाई प्राथमिकीकरण गर्दै विषयगत योजनाहरुको खाका तयार गरिएको हो ।


जिल्लाको आवधिक योजनाका कार्यक्रम तथा लक्ष्यलाई वार्षिक कार्यक्रम र लक्ष्यकाबीचमा तालमेल गराउँदै त्यसका आधारमा नयाँ आर्थिक वर्षको कार्यक्रम तयार गर्नका लागि योजना तर्जुमा गोष्ठी सञ्चालन गरिएको जिल्ला विकास समितिका योजना अधिकृत तिम्सिनाको भनाई छ  ।