दमन राई/खोटाङ – खोटाङ र भोजपुरको सिमामा पर्ने ट्याम्केडाँडामा ट्याम्के महोत्सव शुरु भएको छ ।
‘ट्याम्केडाँडा पर्यटनको पहिचान, प्राकृतिक सम्पदाको संरक्षण, संबर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित ट्याम्के महोत्सव आजदेखि शुरु भएको हो ।
एक हप्तासम्म सञ्चालन हुने महोत्सव सँस्कृति मन्त्री गोपाल किरातीले उद्घाटन गरेका हुन् ।


पर्यटकीय स्थल ट्याम्केडाँडाको पर्यटन प्रवर्द्धनकासाथै त्यहाँ भएका जैविक सम्पदाको संरक्षण गर्ने उद्देश्यले सेल्मे–ट्याम्के पर्यटन तथा संरक्षण समिति खोटाङ–भोजपुरको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा आदिवासी जनजातीको साँस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै भेषभुषा, राडीपाखी, खाँडीका सामग्री र स्थानीय विश्वकर्मा जातीले निर्माण गरेको  घरेलु उपकरण, स्थानीय कृषिजन्य उत्पादनहरु लगायतलाई स्टलमा राखिएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती पनि रहनेछ ।

पर्यटनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको ट्याम्केडाँडाको पहिचान गराउन र पर्यटन विकासकालागि गर्न लागिएको महोत्सव अवधिभर अनुमानित १७ लाख ५० हजारको खर्च हुने आयोजकले बताएको छ ।
 पूर्वी पहाड कै अग्लो मानिने ट्याम्के र ट्याम्के जंगलमा पाईने वन्यजन्तु र जडीबुटीको प्रचारप्रशार गर्दै संरक्षण गर्नका लागि पनि महोत्सव गर्न लागिएको हो ।