२६ दिक्तेल, वैशाख । गाउँमा मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको याम्खाका आमा समुहले गाउँमा मादक पदार्थ बिक्री तथा वितरणमा रोक लगाएको छ ।
गाउँलाई मादक पदार्थरहित बनाउने उद्देश्यले स्थानीय सयपत्री आमा समुहले याम्खा–२ डाँडागाउँमा मादक पदार्थ बिक्री तथा बितरणमा रोक लगाएको हो ।

 गाउँमा खुलेआम बिक्री वितरण हुने मादक पदार्थका कारण समाजमा झै–झगडा, हो–हल्ला र विकृति फैलिएको भन्दै आमा समुहले गाउँमा मादक पदार्थ निषेध गरेको स्थानीय हरि नेपालले जानकारी दिए ।

मादक पदार्थ निषेध गरेको आमा समुहले गाउँमा जाँड रक्सी बिक्रि वितरण गर्नेलाई आर्थिक जरिवाना तोकेको छ । आमा समुहले आफ्नो नियम उल्लंघन गर्नेलाई पहिलो पटक भए पाँच हजार र दोश्रो पटक भए १० देखि ५० हजारसम्म जरिवाना गर्ने निर्णय गरेको नेपालले बताए ।

सयपत्री आमा समुहका अध्यक्ष शुभकला बस्नेतको अध्यक्षतामा सोमबार बसेको समुहको बैठकले गाउँलाई मादक पदार्थरहित बनाउने घोषणा गरेको हो ।