खोटाङ – आफ्नै छिमेकीको ज्यान मारेको अभियोगमा खोटाङमा ६ जना पक्राउ परेका छन् ।

यही साउन १ गते निर्मलीडाँडा–५ का ६५ वर्षीय भलमान भुजेलको हत्या गरेको अभियोगमा निर्मलीडाँडा–७ का २७ वर्षीय रमाहाङ राई, ३६ वर्षीय अरुण राई, २३ वर्षीय धनजित राई, २२ वर्षीय किरण राई, ३० वर्षीय रकम राई र २३ वर्षीय नगेन राई पक्राउ परेका हुन् ।

पीडित परिवारले दिएको किटानी जाहेरीको आधारमा उनीहरूलाई सदरमुकाम दिक्तेल–२ बाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक कमल रजौरेले बताउनुभयो ।

पक्राउ परेका सबैलाई ज्यान मार्ने अभियोगमा मुद्दा चलाइएको प्रहरी निरीक्षक रजौरेले जानकारी दिनुभयो ।

गत असार ३१ गते घरबाट निस्केका भुजेल निर्मलीडाँडा–६ का चन्द्रबहादुर राईको घरनजिक रहेको सिरुबारी खोलामा हत्या गरिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । रासस