साउन ३१ – उदयपुरको सिद्धिचरण राजमार्गअन्तर्गत कटारी, घुर्मी हुँदै ओखलढुङ्गा तथा खोटाङ जाने यात्रुहरूबाट सो क्षेत्रका यातायात व्यवसायीहरूले मनपरि भाडा असुल्दा यात्रुहरू मार्कामा परेका छन् ।
कटारीबाट घुर्मीसम्मको २० किलोमिटर बाटोमा पनि यातायात व्यवसायीहरूले नियमविपरीत प्रतियात्रु रु ३५० देखि रु ४५० सम्म भाडा लिने गरेको स्थानीयवासी खगेन्द्रकुमार खड्का र विष्णु दाहालले गुनासो गरे ।

यस्तै ओखलढुङ्गासम्म पुग्न रु ५०० देखि रु ६५० सम्म भाडा तिर्नु परेको यात्रुहरू बताउँछन् ।

तेलको मूल्य बढेको भन्दै यातायात व्यवसायीहरूले यात्रुहरूबाट मनपरि भाडा असुल्ने गरेका स्थानीयवासीको गुनासो छ । अझ विद्यार्थीहरूबाट समेत पूरा भाडा लिने गरेको विद्यार्थी दिनेश खपाङ्गी मगर बताउँछन् ।

सम्बन्धित निकायहरूबाट उचित अनुगमन हुन नसक्दा स्थानीय यातायात व्यवसायी सङ्घले निर्धारण गरेको भाडा दरभन्दा पनि महँगो भाडा तिनुपर्नेको गुनासो बढ्न थालेको छ ।