खोटाङ, ५ भदौ । पर्यटकीय क्षेत्रको विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ खोटाङका पाँच गाविसका बासिन्दाले भोजपुर सिमानमा रहेको सालपा पोखरीसम्म जाने ग्रामीण सडकको निर्माण कार्य थालेका छन् ।

पर्यटनको प्रशस्त सम्भावना बोकेको सालपा पोखरी सडक अभावका कारण ओझेलमा परेको भन्दै खोटाङको सप्तेश्वर, बाक्सिला, सुङ्देल, राखावाङ्देल र दिप्सुङका गाउँलेले सालपा पुग्ने सडक निर्माण गर्न थालेका हुन् ।
देश विदेशका हजारौँ पर्यटक पोखरीको दृश्यावलोकन गर्न आउने यस स्थानको विकासमा कसैको ध्यान नगएको भन्दै सडकको निर्माण थालिएको स्थानीयवासी मेघराज राईले बताउनुभयो ।

खोटाङको लामिडाँडा–ऐसेलुखर्क क्षेत्रीय सडकखण्डअन्तर्गत हौचुर गाविसबाट सालपा पोखरी जोड्ने गरी सडक निर्माण थालिएको उपभोक्ता समितिको भनाइ छ । अहिले फेदी गाविसस्थित थर्पुडाँडासम्म तीन किलोमिटर सडकको निर्माण भइसकेको छ ।

वैशाखे पूर्णिमा, भदौको पूर्णिमा र मङ्सिरे पूर्णिमाका दिन ठूलो मेला लाग्ने यस पोखरीसम्म पुग्न पर्यटक र तीर्थयात्रीलाई खोटाङको दिक्तेलदेखि पैदल एक दिनसम्म लाग्छ । यस स्थानमा लाग्ने मेला भर्न खोटाङ, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभाका साथै छिमेकी राष्ट्र चीन र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । यस पोखरीमा नुहाउँदा पापबाट मुक्ति मिल्ने, मनोकाङ्क्षा पूरा हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।

प्रशस्त धार्मिक आस्था बोकेको यस स्थानको पर्यटकीय विकास गराउन सके समग्र जिल्लालाई आर्थिक उपार्जनमा सहज हुने भन्दै यस क्षेत्रका बासिन्दा सक्रियताका साथ आफ्नै लगानीमा सडक निर्माणमा जुटेको बताइएको छ । रासस