काठमाडौँ, ६ भदौ । खोटाङ निवासी वीरेन्द्रकुमार राई र दाङ निवासी दिनेश आचार्यले लामो समयसम्म हात मिलाएर नयाँ विश्व रेकर्ड कायम गर्न आजदेखि निरन्तर हात मिलाउन सुरु गरेका छन् ।

‘विश्व मानचित्रमा नेपाल र नेपालीको शानः एकता मेलमिलाप र शान्तिका लागि अभियान’ भन्ने नाराका साथ सुरु गरिएको हात मिलाउने कार्य यही भदौ ९ गते बेलुकी ६ बजेर ५ मिनेटसम्म निरन्तर जारी रहनेछ ।
यसअघि आचार्य र राईले ४२ घन्टा १२ मिनेट ९ सेकेन्डको विश्व रेकर्ड कायम गरिसक्नुभएको छ । यसपटक सो कीर्तिमान तोड्दै ८० घन्टा पु¥याउने लक्ष्यका साथ उहाँहरू हात मिलाउँदै हुनुहुन्छ ।

राप्ती समाज काठमाडौँको आयोजनामा दिउँसो १२ बजेर ५ मिनेटदेखि सुरु भएको हात मिलाउने कार्यको शुभारम्भ गराउँदै नेकपा (एमाले)का सचिव शङ्कर पोखरेलले हात मिलाउने कार्य राप्तीवासीका लागि मात्र नभई समग्र मुलुककै प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।

आचार्य र राईको हात मिलाउने कार्यबाट जातीयताका हिसाबले पनि सद्भाव कायम गर्न सफल हुने चर्चा गर्दै उहाँले आचार्यद्वारा लिखित ‘पुनरागमन’ नामक सामाजिक उपन्यासको विमोचनसमेत गर्नुभयो ।

कार्यक्रममा लोकगायिका कोमल वली, समाजका अध्यक्ष एकराज आचार्य, महासचिव शशी शर्मा मजगैयाँलगायतले आचार्य र राईलाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।