खोटाङ सेवा समाज बेलायतले यस वर्षको ‘खोटाङ प्रतिभा पुरस्कार’ प्राज्ञ तथा संगीतकार शान्तिराम राईलाई प्रदान गरेको छ।

त्यस्तै समाजले ‘खोटाङ नागरिक सम्मान’ द्वारा कृषि विशेषज्ञ मदन राईलाई सम्मान गरेको छ । शनिबार ललितपुरस्थित स्टाफ कलेजको सभाकक्षमा एक समारोहका बीच उनीहरुलाई नगद ५०-५० हजार सहित सम्मान तथा पुरस्कृत गरेको हो । सम्मानीत तथा पुरस्कृत हुने कृषि विशेषज्ञ मदन र शान्तिरामलाई कार्यक्रमका प्रमुख अतिथि नवगठित संघीय समाजवादी नेपालका अध्यक्ष अशोक राईले सम्मान प्रदान गरेका थिए ।

तीन दशकदेखि निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा अहोयात्र लागि पर्दै आएका संगीतकार शान्तिरामलाई उनको संगीतप्रतिको योगदानको कदर गर्दै पुरस्कृत गरेको समाजले जनाएको छ । त्यस्तै शैक्षिक तथा कृषि क्षेत्रमा योगदान पुर्याए वापत मदनलाई ‘खोटाङ नागरिक सम्मान- २०६९’ द्वारा सम्मान गरेको समाजका अध्यक्ष बद्री राईले बताए ।

पाँच वर्ष अघि स्थापना भएको खोटाङ सेवा समाज बेलायतले प्रत्येक दुई वर्षमा समाजमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याउने दुई व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । त्यसैको निरन्तरता दिँदै यो वर्ष संगीतकार शान्तिराम र कृषि विशेषज्ञ मदनलाई पुरस्कृत तथा सम्मानीत गरेको हो ।

कार्यक्रममा खोटाङमा जन्मेर विभिन्न स्थानमा रही देश र समाजप्रति योगदान गर्दै आएका विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो । पुरस्कृत तथा सम्मान प्रदान कार्यक्रममा पूर्व राजदुत डा. नवलकिशोर राई, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, पूर्व सशस्त्र आईजिपी सनतकुमार बस्नेत, कवि श्रवण मुकारुङ, गायक तथा साहित्यकार गणेश रसिक, गायक रुपमकुमार राई लगायतको उपस्थिति थियो ।