मृतक खड्काको परिवार । तस्बिर सौजन्य : राजकुमार खड्का । 
माघ–१३, एउटा सानो घर । घरभरी उत्रै–उत्रै बालबच्चाहरु छन् । शरीरमा ढाक्ने एक सरो गतिलो लुगाफाटा छैन । बिहान बेलुका खानकालागि बनिबुतोको भरथेग छ । जायजेठाको नाममा दुई रोपनी मात्र जग्गा छ । धन कमाउन बिदेश गएका श्रीमानको बिदेशमै हत्या भयो ।
यस्तो दयनीय अवस्थामा संघर्षरत छिन् खोटाङ छितापोखरी–४ ढुसेनीका सुमित्रा खड्का । बिधवा सुमित्राको काँधमा अहिले पाँच लाखभन्दा बढि ऋणको भार छ । शारिरीकरुपमा सुमित्रा आफै प,नि रोगी छिन् । लगातार ज्वरो आउने, खोकी लाग्ने, मुखबाट रगत जाने लगायतका समस्या छ उनलाई । आफुसहित ८ जनाको पेटकालागि पसिना बगाउनु पर्छ तिनै अस्वस्थ पाखुराले ।
धन कमाउँला, सुखशयलकासाथ पालौंला भन्दै कतार गएका ४२ वर्षीया श्रीमान तिर्थबहादुर खड्काको चार महिनाअघि कतारमै शंकास्पद हत्या भएपछि खड्काको ८ जनाको परिवार अहिले बिचल्नीमा छन् । धन आउलान् भन्दै कुरेको बाटोबाट श्रीमानको शव आएपछि सुमित्राको जीवनमा बज्रपात भयो । ५ छोरी र २ छोरा भएको खड्का परिवारलाई आफ्नो बारीमा उब्जिएको अन्नले वर्षको तीन महिना भन्दा बढि खान पुग्दैन । ‘बाँकी महिना खान र खुवाउनकालागि गाउँमा बनिबुतो गरिरहेकी छन् बिचरी सुमित्राले ।’–छिमेकी टिकामायाँ भूजेल भन्छिन् । शारिरीकरुपमा अस्वस्थ रहेकी सुमित्राकालागि बनिबुतोको काम गर्न पनि गा¥हो हुँदै गएका छन् । खर्च नभएकै कारण उनले आफ्नो उपचार गराउन सकेकी छैनन् । निम्न आर्थिक स्तर भएका खड्का परिवारकालागि अहिले साँझबिहानको हातमुख जोर्नुबाहेक बालबच्चाको लालनपालन र शिक्षादिक्षा प्रमुख चुनौती बनेको छ । 
तीन वर्षअघि कतार पुगेका तिर्थको हत्या भएपछि ४ देखि १६ वर्ष उमेरभित्रका ७ जना छोराछोरीको पठन–पाठन प्रभाबित भएको छ । उनीहरु गाउँकै बिद्यालयमा भर्ना भएका छन्, तर घरायसी काम र बनिबुतोका कारण बिद्यालय जान पाउँदैनन् । ‘उनीहरु बिद्यालयमा भर्ना त छन् तर बिद्यालय गएका छैनन्, उनीहरु परिक्षाका बेलामा मात्र बिद्यालय जान्छन् ।’ मृतक खड्काका छिमेकी एबं स्थानीय शिक्षक राजकुमार खड्का भन्छन्–‘अहिले उनीहरु वर्ष दिनमा मुस्किलले २० दिन जति मात्र बिद्यालयमा हाजिर भएको देखिन्छ ।’ उनका अनुशार ती ७ बालबालिकाको अभिष्यकालागि अनाथलयमा पु¥याउनु वा सहयोगको लागि कसैको जिम्मा दिनु बाहेकको अन्य बिकल्प छैन । खड्का परिवारले बालबच्चाको पठन पाठनकालागि कतिपयबाट सहयोगको आश्वासन पाएका पनि छन् तर हालसम्म कार्यन्वयन भने भएको छैन । 
खड्काको जेठी छोरी पार्वता खड्का कक्षा ७ मा, माईली छोरी बिमला कक्षा ६ मा, साईली पर्मिला ४ मा, काइली बिपना ३ मा र कान्छी सपना खड्का कक्षा २ मा अध्यायनरत छन् । यस्तै, जेठो छोरा धिराज कक्षा ३ र कान्छो छोरा हिराज कक्षा १ मा अध्ययन गरिरहेका छन् । उनीहरु छितापोखरीस्थित जनसेवा माबि र जनचेतना प्राबिमा अध्यायनरत छन् । तर साथ र सहयोग नपाए उनीहरुले बिद्यालय छाड्नुको बिकल्प नभएको छिमेकीहरु बताउँछन् ।
निम्न आर्थिक स्तर भएका खड्का दम्पतीको बर्षेनी बाक्लो बच्चा जन्मिए । उही अनुपातमा आर्थिक भार पनि बढ्दै गयो । ऋणको मात्रा बढ्दै गए । परिवारकालागि बनिबुतो र भारी बोकेर हार खाएका खड्काले बिदेश जाने सोच बनाए । र, तीन वर्षअघि कतार पुगेका थिए । बिदेश जानुअघि पनि उनी भरियाको काम पनि गर्दै आएका थिए । ‘खड्काको परिवारलाई अहिले पनि पाँच लाखभन्दा बढि ऋणको भार छ ।’–शिक्षक खड्काले भने । बिदेश जानुअघिको सगोलको ऋण र बिदेश जाँदा लिएको ऋण तिर्न सक्ने हैसियत नभएका खड्का परिवारलाई ऋण मिनाहा गर्न प्रतेक साहुहरुलाई आग्रह गर्नु पर्ने अवस्था आएको शिक्षक खड्का बताउँछन् । ‘हातमुख जोर्न नसकिरहेका परिवारले कसरी ऋण तिर्छन् ?’ शिक्षक खड्का भन्छन्–‘त्यही भएर उसका साहुहरुलाई ऋण माफी गर्न आग्रह गर्ने सोच बनाएका छौं ।’
कतारको सनैयास्थित पिनेल्को कम्पनीमा चौकीदारकारुपमा कार्यरत खड्काको गत भदौ–२ गते शंकास्पद हत्या भएको थियो । पैसाकालागि कसैले हत्या गरेको हुन सक्ने उनका साथीहरुको भनाई छ । कतार पुगे यता ऋण तिर्न ६० हजार र घर खर्चकालागि १ लाख बाहेक अन्य पैसा नपठाएका खड्काको साथमा भएको पैसाकै कारण हत्या गरिएको हुन सक्ने कतारमै बस्दै आएका उनका भाई राजन खड्काको अनुमान छ । कतारमा मेस पनि चलाएका मृतक खड्काको शव गत मंसिर–८ गते नेपाल ल्याइएको थियो । मृतकका परिवारका अनुशार ‘खड्काको कोद्धारा हत्या गरियो’ भन्ने अझै खुल्न सकेको छैन । उनको हत्याको आशंकामा उनीसँगै काम गर्दै आएका रुपन्देहीका एक व्यक्तीलाई प्रहरीले निगरानीमा राखेको आफन्तहरु बताउँछन् । तिर्थको हत्या भएपछि छोराछोरीको लालनपालन र जीवनयापनमा समस्या परेको भन्दै मृतक परिवारले सबैसँग सहयोगको याचना गरेका छन् । ‘आफु पनि बिरामी छु, काम गर्न सक्तिन ।’ मृतककी श्रीमति सुमित्रा भन्छिन्–‘यत्रा छोराछोरी छन्, खुवाउनु प¥यो, ल्वाउनु प¥यो । पढाउँनै प¥यो । आफुसँग केही छैन । के गर्ने ?’

बिचल्नी परिवारलाई सहयोग

मृतक तिर्थ खड्काको परिवारलाई नजिकबाट चिन्ने जान्नेहरुले सहयोग गर्न थालेका छन् । केही समयअघि कुबेत खोटाङ सम्पर्क मञ्चले मृतक परिवारलाई ५० हजार ५ सय ३ प्रदान गरे । यस्तै, कतारमा बस्दै आएका प्रतापसिं राईले ८७ हजार र सिताराम खड्काले १० हजार दिए । हाल कतारमै रहेका मृतकका आफ्नै भाई राजन खड्काले पनि बिधवा भाउजु र भतिजाभतिजिनीहरुको सहयोगार्थ १० हजार पठाएर सहयोग गरेका छन् ।