माघ–१९, अधिकांश नवजोडीको इच्छा हुन्छ ‘सँगै ज्यूने अनि सँगै मर्ने’ । सँगै बाँच्ने र सँगै मर्ने बाचा कसम खाँदै दाम्पत्य जीवनमा बाँधिन्छन् हरेक नवजोडीहरु । तर जन्म र मृत्युको कुनै ठेगान हुन्न । कमै मात्रामा यस्तो इच्छा संयोगबश पूरा भएको छ, खोटाङको खाल्ले–६ का ७३ वर्षीय हरिबहादुर खतिवडा र ६५ वर्षीय नरमायाँ खतिवडाको । 
खतिवडा दम्पतीले आफ्नो दाम्पत्य जीवन शुरु गर्दा इच्छाएका रहर संयोगवश पूरा भएको छ । बुधबार साप्सु खोलामा एउटै चितामा राखेर मृतक खतिवडा दम्पतीको दाहसंस्कार गरिएको स्थानीय कृष्णकुमार थापाले बताउनु भयो । १२ घण्टाको फरकमा उनीहरुको मंगलबार निधन भएको थियो । श्रीमानको दिउँसो दुई बजे र श्रीमतीको त्यही रातको दुई बजे निधन भएको छिमेकीहरुको भनाई छ । 
एकै दिन निधन भएको र एउटै चितामा जलाइएका खतिवडा दम्पतीको बिषयले अहिले गाउँघरमा चर्चा पाएको छ । एकै दिन निधन भएका कारण बृद्धलाई एउटै चिताको दायाँ र बृद्धालाई बायाँतर्फ राखेर जलाइएको थापाले बताउनु भयो । 
प्रेम बिवाह गरेका खतिवडा दम्पतीका पाँच छोरा र छ वटी छोरी छन् । चार छोराहरु बिदेशमा रहेकाले उनीहरुको दाहसंस्कारमा एक छोराको मात्र उपस्थिति रहेको थियो ।