बैशाख–१४, कला, गला, गीत, संगीत र साहित्य सर्जकहरुको उर्वर भूमि अर्थात (ब्याँड) मानिने खोटाङमा शनिबारदेखि ‘प्रथम साहित्य कला महोत्सव–२०७०’ शुरु भएको छ । जिल्लाको साहित्यिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउने उद्धेश्यले तीन दिने महोत्सव शुरु भएको हो । 
स्थानीय कला, संस्कृति, प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदालाई प्रचार–प्रसार गर्दै पर्यटन प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको राष्ट्रिय वाङमय कला प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष बिष्णु आभूषणले बताउनुभयो । रावासावा प्राज्ञिक समाज काठमाडौं र राष्ट्रिय वाङमय कला प्रतिष्ठानको आयोजना तथा खोटाङ गजल मञ्च र संजीवनी नारी साहित्यिक मञ्चको सहआयोजनामा महोत्सव शुरू गरिएको हो । 
जिल्लाका ४० हजारको सहभागिता रहने दावी गरिएको महोत्सवकालागि खगेन्द्र संग्रौला, श्रवण मुकारुङ, भूपाल राई, विप्लव ढकाल, ललिजन रावललगायतका लेखक तथा साहित्यकारहरु खोटाङ आउनु भएको छ । विभिन्न जातजातिको साँस्कृतिक झाँकी तथा कला प्रस्तुत गरिने महोत्सवको पहिलो दिन बृहत कविता प्रतियोगिता, दोश्रो दिन श्रृजना प्रस्तुती तथा साहित्यका विभिन्न विद्यामा कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । 
कला महोत्सवको समापनपछि अतिथि तथा श्रष्टाहरुलाई जिल्लाको पर्यटकीय स्थलहरु पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी, रुपाकोटडाँडा, किरात सभ्यताको उद्गम थलो मानिने तुवाचुङजयाजुङ क्षेत्रको भ्रमण गराउने कार्यक्रम छ ।