जेठ १६ । पहिलोपल्ट तिलुङ राई भाषाको बर्ण निर्धारण तथा पहिचान गरिएको छ । खोटाङ र उदयपुरका तिलुङ भाषी बुढापाकाहरुलाई ललितपुरको जावलाखेलमा भेला गरेर तिलुङ भाषाको स्वर बर्ण र व्याञ्जन बर्ण पहिचान तथा निर्धारण गरिएको हो ।

बुढापाकाको अन्त्यसँगै संकटमा परेको भाषा संरक्षणकालागि बुढापाकाहरुलाई सोधेर तिलुङ भाषाको वर्णहरु निर्धारणका काम गरिएको तिलुङ राई बुगाकिमका महासचिव मिलन तिलुङ राईले बताउनु भयो । वर्ण निर्धारणकाक्रममा तिलुङ भाषाका व्याञ्जन वर्णहरु २२ वटा र स्वर वर्ण ६ वटा मात्र रहेको पत्ता लागेको बुगाकिमले जनाएको छ । महासचिव राईका अनुशार कतिपय एक वर्णले अर्को वर्णको काम गर्ने गरेका कारण वर्ण संख्या कम पाइएको हो । तिलुङ भाषामा त, थ, ढ, ध, ण, श, ष, क्ष, त्र, ज्ञ लगायतका व्यञ्जन वर्ण तथा ई, एै, औ, ऋ, अं लगायतका स्वर वर्णहरु प्रयोगमा नआउने गरेको महासचिव राईको भनाई छ । प्रायः राई भाषामा घ, झ, ढ, भ, श, ष, क्ष, त्र, ज्ञ लगायतका वर्णहरु नभेटिने र प्रयोगमा नआउने राई भाषाबिदहरु बताउँछन् ।

आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तिलुङ राई बुगाकिमको पहलमा निर्धारण गरिएको वर्णलाई शव्दकोष तथा पुस्तक प्रकाशन गर्दै भाषालाई लिपीबद्ध गर्ने बुगाकिमका सल्लाहकार तुलसी तिलुङ राईले बताउनु भयो ।

खोटाङ, उदयपुर, सिराहा, झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौंलगायतका ठाउँमा तिलुङ राईको बसोबास रहेको छ । २०६८ सालको जनगणना अनुशार तिलुङको जनसंख्या १ हजार ४ सय २४ रहेको छ ।