खोटाङ, कात्तिक । पहिलो संबिधानसभाको निर्वाचनसम्म दलका नेताहरु जनताको घरदैलोमा पुगेर भोट माग्थे । त्यसबेला भोटकालागि जनताको घर धाउनु वा भेट्नुको बिकल्प थिएन । घाँटी सुक्ने गरी भाषण गर्दै भोट दिन आग्रह गर्थे, तर अहिले जमना बदलिएको छ । इमेल इन्टरनेट प्रयोग गर्ने मतदाताहरु पनि बढेका छन् । त्यही भएर खोटाङका एमाओबादी, कांग्रेस, एमाले, संघीय समाजबादी, नेपाल  कम्यूनिष्ट पार्टी लगायतका राजनैतिक दलमा आवद्ध नेता तथा कार्यकर्ताहरुले दोश्रो संबिधानसभाको निर्वाचनकालागि सामाजिक सञ्जाल फेसबुकका माध्यामबाट भोट मागीरहेका छन् ।

पार्टीको मनोनयन दर्ता गरेसँगै चुनावी अभियानलाई तिब्रता दिएका दलहरुले चुनावी अभियानकासाथै पार्टीको नाममा फेसबुक एकाउन्ट बनाएर वा स्वयं कार्यकर्ताहरुले फेसबुकका माध्यामबाट भोट मागीरहेका छन् । एकातर्फ पार्टीका उम्मेदवार तथा नेताहरु चुनावी कार्यक्रम लिएर गाउँ गाउँमा कुदीरहेका छन् भने अर्कातर्फ सदरमुकामबाट फेसबुकका माध्यमबाट पनि भोटकालागि आग्रह गरिरहेका छन् ।

पार्टीको नाममा खोलिएका फेसबुक एकाउन्ट होस् या व्यक्तीगत फेसबुक एकाउन्टमा आफ्नो उम्मेदवारको फोटोसहित पार्टीको चुनाव चिन्हमा भोट दिनकालागि आग्रह गरिएको छ । फेसबुकमा पोष्टरहरु टाँस्दै गरिएका, कार्यक्रमहरु भइरहेका, जुलुस लगायतका तस्बिरहरु पोष्ट हुँदै आएका छन् । जिल्लाको कुन स्थानमा कार्यक्रम भए भन्ने जानकारी पनि फेसबुकमा अपडेट भइरहेका छन् । एनसेल र एनटिसी मोबाइल सेटबाट गाउँ गाउँमा पनि इन्टरनेट चलाउन सकिने भएकाले यस्ता गतिबिधि अपलोड गर्न सजिलो भएको छ नेता तथा कार्यकर्तालाई । नेपाली कांग्रेस खोटाङले चुनावलाई लक्ष्यीत गर्दै आफ्नै फेसबुक सञ्चालनमा ल्याएको छ । यस्तै, कांग्रेसको दोर्पाचिउरीडाँडा गाउँ समितिले पनि चुनावी फेसबुक चलाइरहेको छ । एमाले निकट अनेरास्वबियु खोटाङले आफ्नो फेसबुकका माध्यमबाट मातृ पार्टीका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

फेसबुक एकाउन्ट नबनाएका दलका नेताहरुले आफ्नै फेसबुकबाट भोट माग्न छुटाएका छैनन् । उनीहरुको फेसबुक आग्रहमा सहमती वा बिमती दुबैथरीका ‘कमेन्टहरु’ देख्न सकिन्छ । ‘अहिलेको जमना नै सुचना र सञ्चारको हो, हामी सबैले समय अनुशार चल्नुपर्छ,’ एमाओबादी खोटाङका नेता सुरेश राईले भन्नु भयो, ‘इमेल इन्टरनेटमा अभ्यस्त बर्गलाई त फेसबुकबाट पनि भोट माग्नु सकरात्मक मान्नु पर्छ ।’

तर अहिलेसम्म फेसबुक चलाउने मतदाताको संख्या कम भएकाले यसबाट भोट माग्नु खासै प्रभावकारी नहुने युवा संघ खोटाङका सचिव रसकुमार राईले बताउनु भयो । ‘जमना त प्रबिधिकै हो,’ सचिव राईले भन्नु भयो, ‘तर इमेल इन्टरनेटको पहुँचमा कति मतदाता छन् भन्ने कुरा प्रधान हो ।’

प्रायः बा¥है महिना सदरमुकाम केन्द्रीत रहने दलका नेताहरु अहिले चुनावका कारण गाउँ–गाउँमा पुग्न बाध्य छन् । एमाओवादी, काग्रेस र एमाले आ–आफ्नो पार्टीको कार्य तालिका बनाएर सार्वजनिक गरी चुनावी अभियानको दौडधुपमा छन् । उनीहरु साँझ बिहान जनताको घर, गल्ली तथा पार्टीपौवामा पुगेर आ–आफ्नो पार्टीको घोषणापत्र, रणनीति तथा उम्मेदवारका बारेमा जानकारी गराइरहेका छन् । पार्टीको पर्चा, पम्प्लेट, झण्डा र भित्तेलेखनले सदरमुकाम तथा गाउँका चोक तथा गल्ली रंगीएका छन् ।