खोटाङ जेठ–२८, वित्तिय साक्षरता कक्षाबाट प्राप्त जानकारीलाई ब्यवहारमा उतार्दै आम्दानी शुरु गर्ने खोटाङका ५५ महिलालाई प्रोत्साहन स्वरुप सामाग्रीहरु प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक, दुई र चार नम्बर वडामा सञ्चालित वित्तिय साक्षरता कक्षामा सहभागी भई आम्दानीमूलक ब्यवसाय शुरु गरेका महिलाहरुलाई ७÷७ हजार बराबरको सामाग्री प्रदान गरिएको हो । 
बालसेवा समाज नेपाल नेर्पाले वैदेशिक रोजगारीमा गएका परिवारको बिप्रेषण प्रापक तीन सय महिला सहभागी गराई २८ हप्ते वित्तिय साक्षरता कक्षा सञ्चालन गरेको थियो ।  कक्षाको प्रभावले तत्कालै आम्दानीमुलक ब्यावसाय थाल्ने महिलाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाजले टनेला, स्थिर कल लगायतको सामाग्री प्रोत्साहन स्वरुप प्रदान गरेको जनाईएको छ ।  
प्रोत्साहन सामाग्री प्राप्त गर्ने महिलाहरुले कक्षाको छलफलपछि तरकारी खेति, बाख्रापालन, कुखुरा पालन, किराना पसल लगायतको ब्यवसाय शुरु गरी आम्दानी र बचत गरिरहेका छन् । समुहका महिलाहरुले बैंक तथा वित्तिय संस्थाहरुमा नियमित बचत गर्नका साथै आम्दानी र खर्चको बिवरण समेत राख्ने गरेका छन् । 
दिक्तेलबजारस्थित होटल शुभदिनमा बिशेष कार्यक्रम आयोजना गरी निर्धारित लक्ष्य अनुरुप काम शुरु गर्ने महिलाहरुलाई बिभिन्न तरकारी तथा फलफूलको बीउबीजन समेत प्रदान गरिएको छ । नगरपालिकाको मेयर दिपनारायण रिजाल लगायतको जनप्रतिनिधिको उपस्थितीमा उक्त सामाग्री प्रदान गरिएपछि थप हौसला मिलेको कक्षाका सहभागीहरुले जनाएका छन् । 
नगरको १५ स्थानमा सञ्चालन गरिएको बित्तीय साक्षरता कक्षा सम्पन्न भएपछि महिलाहरु सामुहिक आम्दानीमुलक खेतितर्फ पनि आकर्षित बनेको पाईएको छ । 
कक्षामा सहभागी स्थानीयले उल्लेख्य उपलब्धी हासिल गरी ब्यवहारिक जीवनमै परिबर्तन ल्याएको पाईएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । 
वैदेशिक रोजगारीमा गएको आफन्तको सुरक्षाका लागि कागजपत्रको महत्वको बारेमा समेत परिवारको सदस्यहरुले बुझेका छन् ।