खोटाङ असार–११,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल भुलभुले दूधकुण्ड स्तरोन्नति कार्य भईरहेको छ । नगरको ६ नम्बर वडा नेर्पामा रहेको भुलभुले दूधकुण्ड परिसरको पोखरी, प्रवेशद्वार, पाँच धारा, बाटो, स्तम्भ, शौचालय लगायत निर्माण शुरु गरिएको हो । 
भुलभुलेमा प्राकृतिक रुपमा उम्रिएको पानीको ठूलो मुहान र सोही मुहानसँगै उब्जिएको विश्वास गरिएको संसारकै लोपोन्मुख रातो माछालाई आश्चार्य र आस्थाको रुपमा लिईने गरिएको छ । पानीको ठूलो मुल र प्रशस्त रुपमा पाईने रातो माछा लगायत अन्य देवदेवताको प्रतिमूर्ति रहेको भुलभुले दूधकुण्डको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ । त्याहाँ पाईने माछा मार्ने मानिसको तत्कालै मृत्यु हुने स्थानीय बताउँछन् । 
परापूर्व कालदेखि नै हरेक वर्षको कातिके पूर्णीमाको दिनदेखि तीन दिनसम्म धामीझाँक्रीको ठूलो घुईंचोसहित मेला समेत लाग्ने भुलभुले दूधकुण्ड स्तरोन्नतीको काम ७५ प्रतिशत सम्पन्न भएको छ । नगरपालिकाको ३५ लाख बजेटमा स्तरोन्नति भईरहेको भुलभुले मध्यपहाडी लोकमार्गमा पर्दछ । 
पछिल्लो समय दैनिक १ सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुल्भुले स्तरोन्ती कार्य ७५ प्रतिशत सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । दर्शनार्थी तथा पर्यटकको संख्या दिनानुदिन वृद्धि हुँदै गएको भुलभुले परिसर स्तरोन्नती पश्चात झनै बढ्ने वडा अध्यक्ष माधव राईले बताउनुभयो । 
जमिनमुनीबाट अनौठो पाराले पानी निस्कने भुलभुले दूधकुण्डको समग्र विकास गर्दै नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बनाउने योजना बनाइएको नगर प्रमुख दिपनारायण रिजालको भनाई छ । 
बाह्रै महिना उत्रै पानी हुने भुलभुले दूधकुण्डमा जलशिकारी र सातकन्यदेवीको पूजाअर्चना गरिन्छ । जमिनमुनीबाट भुल्भुल् गरेर उम्रिने उक्त दूधकुण्डको पानीले नुहाएमा रोगव्याधी नष्ट हुने पनि जनविश्वास रहेको छ । 
भुलभुलेमा आउने भक्तजनले पूजापाठसँगै शान्तिको प्रतीक परेवा जोडी उडाउने गर्छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट यातायातका साधन प्रयोग गरेर जाँदा करिब आधा घण्टामा भुलभुले दूधकुण्ड पुग्न सकिन्छ । 
भुलभुले दूधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, सिन्धुली लगायत भारतका समेत दर्शनार्थी आउने गरेका छन् ।