जेष्ठ–२९, वरिपरी झुरुप्प छन् गाउँले । कसैको आँखामा आँशु छचल्किएको छ त, कसैले डाँको नै छोडेको । उनीहरुको बिचमा बसेर सारङ्गीको तालमा गीत गाइरहेका छन् गाईने दाजुभाइ । 
सुनौं दिदी, सुनौं बहिनी, सुनौं दाजुभाइ
ख्याल ठट्टा नठानौं है विदेश जानलाई !
गाउँ बस्ती दिनदिनै खाली हुन थाले
सन्तानका साथ पाउन छाडे आमाबाले !!
सारङ्गीको धुन र गाईनेको सुरिलो स्वर सुन्ना साथ कमै मान्छेको मन पग्लिन्न होला ! त्यसैमाथि आफ्नै आफन्तले विदेशमा पाएको दुःख र कष्टलाई गीतको माध्यमबाट उनीहरुलाई नै सुनाउँदा ।
विभिन्न सन्देश मूलक गीत र सारङ्गीको धुन सुनाउँदै हिँड्ने गन्धर्व यति खेर खोटाङ जिल्लाको विभिन्न गाउँमा यस्तै सन्देश मूलक गीत गाइरहेका भेटिन्छन् । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धीमूलक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन सूचना केन्द्र दिक्तेलले यसको बन्दोबस्ती मिलाएको हो । 
विगत १४ वर्षदेखि गीत गाउँदै हिँडेका भोजपुर जरायोटार–४ माङ्दिङका २१ वर्षीय तेजिन्द्र र उनको आफ्नै भाइ १८ वर्षीय हिमाल गन्धर्व अहिले जिल्लाको विकट गाउँहरुमा सारङ्गी रेटेर गीत गाउँदै हिँडिरहेका छन् । रोजगारीको सिलसिलामा विदेशमा पुगेकाहरुले पाएको दुःख, पीडा तथा व्यवहारिक सीप सिकेर गएकाहरुको परिवारमा आएको परिवर्तन लगायतका विषयलाई समेटेर उनीहरुले गीत गाउने गरेका छन् । 
आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्दै गीत–संगीतलाई नै जीविकोपार्जनका माध्यम बनाएर हिडेका उनीहरुका लागि केन्द्रका कर्मचारीहरुले सबै समन्वय गर्ने गरेको छ । गीत गाउँदै हिँडेका तेजिन्द्र भन्छन्,–‘हामी त जीवन धान्नकै लागि गीत गाएर हिँड्छौं, यही क्रममा केन्द्रले यहाँ आउने अवसर दिलायो ।’ 
गरीब परिवारका यी दाजुभाइ विभिन्न सन्देश मूलक गीत गाउँदै नेपाल बाहेक छिमेकी राष्ट्र भारतसम्म पुगेका छन् । सारङ्गीको सहारामा उनीहरु विभिन्न सन्देश मूलक गीत गाउँने गर्छन् । एक जनाले गाउन थाल्यो कि अर्कोले स्वर खापेर गाउँदा अन्य स्थापित गायक भन्दा कम सुनिन्न । मधुर स्वरका धनी तथा सारङ्गी रेट्न खप्पिस दाजुभाइ अब छिट्टै एल्वम् निकाल्ने तयारीमा छन् ।
गन्धर्वको सहयोगमा वैदेशिक रोजगारीमा जान चाहँने युवा–युवतीलाई ठगीबाट बचाउँन र वैदेशिक रोजगारीलाई उपलब्धी मूलक बनाउन साँगीतिक अभियान थालिएको केन्द्रका कार्यक्रम संयोजक नबिन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘तालिम र अन्तरक्रिया भन्दा पनि गीतसंगीत प्रभावकारी हुने भएकाले यस्तो अभियान थालिएको हो ।’
सन्देश मूलक साँगीतिक अभियानमा विदेश जानु पूर्व, विदेशमा भोग्नु परेको पीडा तथा सीप सिकेर गएका परिवारमा आएको परिवर्तन र विदेशबाट फर्किएकाहरुले गरेको प्रगतिको विषयलाई गीतको माध्यमबाट जानकारी दिइन्छ ।