असोज–२, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले विस्थापित शिक्षकहरुलाई तत्काल पदस्थापन गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । जिल्लामा २१ जना विस्थापित भएकामध्ये १४ जना शिक्षकलाई अझै पदस्थापन नगरिएको भन्दै जेष्ठताका आधारमा तत्काल पदस्थापनका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा समक्ष माग गरेको हो ।  
शिक्षा विभागले विस्थापित भएका सबै शिक्षकलाई पदस्थापन गर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएपनि शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै तत्काल पहल गरिदिन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको संगठनका सचिव टंक कटवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा सेवा आयोगद्धारा  हालै प्रकाशित नतिजा अनुसार दरबन्दी मिलान गर्नेक्रममा विस्थापित भएकाहरुलाई पदस्थापन गर्न विभागले निदेर्शन दिएपनि जिल्ला शिक्षाले कार्यान्वयन नगरेकाले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका हौं ।’
स्रोतका अनुसार पदस्थापन गर्ने क्रममा जिल्लाका धेरै विद्यालयहरु खाली रहेको जनाइएको छ । विद्यालयहरु खाली भएपनि जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईले पदस्थापन नगरेको संगठनको आरोप छ । यसबारे उनीहरुले बुझाएको ज्ञापन–पत्र सम्बन्धीत कार्यालयलाई पठाएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उक्त विषयको मुद्दा शिक्षा समितिले हेर्नेछ ।’
उता, जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईले शिक्षा नियमावली अनुसार उनीहरुलाई हटाइएकाले पदस्थापन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकसेवा आयोगबाट स्थायी शिक्षक आएकाले कनिष्ठताका आधारमा अस्थायी शिक्षकहरुलाई हटाइएको हो ।’