सरिता राजभण्डारी / खोटाङ
साउन–९, ‘होईन तिमिले धेरै मायाको अनुभूत पो गरायौ त कसरि सिक्यौ हौ मायाँले बोल्न ?’ अलि जिस्काए जस्तो अनि अलि मायाँ गरे जस्तो फोनमा प्रश्न आयो–‘पहिला त यसरी बोल्दैन थियौ त !’ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ आचार्यगाँउको प्रमिला आचार्य र दुवईमा रहेको उनको श्रीमानबीचको वार्तालापको एक अंश । हिजोआज प्रमिलाले आफ्नो श्रीमानसँग फोनमा कुराकानी गर्दा पहिला सन्चो–बिसन्चो , काम–थकान लगायत ज्यान र मनको अवस्थाबारे सोध्नुहुन्छ । परिवारको समस्या र पैसाको कुरा त्यसपछि मात्र उप्काउनुहुन्छ । 
तर प्रमिलाले पहिला पहिला पैसा र घरपरिवार चलाउन समस्या परेको कुरा एकै चोटी फोनमा राख्नुहुन्थ्यो । त्यसो गर्दा ठाकठुक र मनमुटाव भएको पनि उहाँलाई अनुभब छ ।
सोही नगरपालिकाकी जमुना राईको श्रीमान पनि वैदेशिक रोजगारीकै सिलसिलामा वाहिरै हुनुहुन्छ । उहाँले पनि वानीमा सुधार गरेर खुशी हुने र अरुलाई पनि खुशी राख्ने उपायहरु अपनाईराख्नुभएको छ । हरेक हिसावले पहिले तनावै तनावमा रहने जमुना आजकाल पानि धेरै पिउने, खाना समयमा खाने र खुवाउने लगायत मन र ज्यानलाई स्वस्थ राख्ने कुरामा ध्यान दिनुहुन्छ । ‘पहिला आफ्नो शरिर बलियो भएमा मात्र सबै काम सजिलै गर्न सकिने रहेछ ।’ उहाँ भन्नुहुन्छ–‘आफू खुशी हुन सक्ने उपायहरु आफैले खोजी गरेमा खुशी हुन सकिने रहेछ नि !’ 
श्रीमान वैदेशिक रोजगारीमा गए पछि पारिवारिक, आर्थिक, सामाजिक लगायत बिभिन्न हिसावले महिलाहरु तनावमा पर्ने गर्छन् । आर्थिक अभाव, कामको बोझ, मनको कुरा सुनाउने मान्छेको अभाव, बिभिन्न लाञ्छना आदिका कारण नकरात्मक सोंचाई राख्ने महिलाहरुमा पछिल्ले समय मनोसामाजिक परामर्शले सकरात्मक सोंचाईंको बिकास गराईदिएको पाईएको छ । जिल्लामा स्थापित नवकिरण सेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रबासन परियोजना सामी अन्तर्गत मनोसामाजिक परामर्श समुह छलफल  सुरु गरेपछि यस्तो परिवर्तन आएको हो । मनोसामाजिक परामर्शबाट प्रमिला र जमुना जस्तै नगरपालिकामा गठन गरिएकोे १४ समुहका १ सय ९७ जना महिलाहरुमा प्रत्यक्ष रुपले सकरात्मक परिवर्तन आएको छ ।
त्यस्ता समस्यामा परेका महिलाहरुको सोंचाईं तथा व्यवहारलाई सकरात्मक बनाउनका लागि परामर्शकर्ताहरुले बिभिन्न विधि र उपायहरुबारे सामुहिक रुपमा छलफल गराएका थिए ।  मनोसामाजिक परामर्श नलिएको अवस्थामा महिलाहरु आफुलाई  परेका समस्याहरु सुनिदिने कोहि नभएपछि दिक्क मान्थे । कसैलाई सुनाईहाले पनि सुनिदिने ब्यक्तिले घरपरिवारमा फेरि सोही कुरा सुनाईदिएर घरपरिवारमै झगडा बढ्थ्यो । ठूलो मान्छेको रिस बालबालिकामा पोखिन्थ्यो । 
मनोपरामर्शकर्ताहरुको सहजीकरणमा छलफल नभएको अवस्थामा अरुको कुरा काटेर घण्टौ समय बिताउने गर्थे, अलि धेरै मान्छे भयो भने बोल्न डराउँथे, धकाउँथे, आफ्नो समस्या अरुलाई भन्न सक्दैनथे । तर अहिले त्यो अवस्था फेरिएको छ ।
परामर्शकर्ताहरुले वैदेशिक रोजगारीमा जानेले भोग्नुपर्ने समस्याहरु, पारिवारिक अर्थात अभिभावकको मानसिक तनावले बालबालिकामा देखिने असर तथा ब्यबहारहरुवारे सामुहिक छलफलमा कुरा उठाएका थिए ।  छलफलमा कामको बोझले शरिर र स्वास्थ्यमा पर्ने असर ,कामको ब्यबस्थापन गर्ने तरिका , अरुको कुरा काट्दा हुने दुवैतर्फका बेफाईदाहरु वारेमा पनि छलफल गर्ने गरिएको छ । 
 वैदेशिक रोजगारमा रहेका आफन्तसँग फोनमा कसरी कुराकानी गर्ने जस्ता साना–साना जस्ता लाग्ने तर महत्वपूर्ण बिषयहरुमा सामुहिक रुपमा छलफल चलाईएपछि सकरात्मक परिवर्तन पाईएको मनोपरामर्शकर्ताहरु बताउँछन् । छलफललाई प्रभावकारी बनाउन चित्र, कथा, र खेल बिधिबाट क्रमशः ७ वटा छलफल सकिएको बताईएको छ । 
छलफलपछि महिलाहरुले एकअर्काको कुरा सुन्ने, बालबालिकाको कुरा सुनिदिने, कुटपिट भन्दा पनि माया र हौसला दिने र कामको बोझ आफूले मात्र नलिई बाडफाँड गर्न थालेका छन् । घरेलु हिंसामा परेका महिलाहरुको कुरा सुनिदिने र सहयोग गर्ने संस्कृतिको पनि पछिल्लो समय विकास भएको छ । 
‘अरुको कुरा काट्दा कसैलाई पनि फाइदा छैन’, छलफलमा सहभागि निर्मलीडाँडाका प्रमिला चौहान भन्नुहुन्छ –‘वरु समस्यामा परेकाको कुरा सुनिदिने र सहयोग पो गर्ने गर्नुपर्छ ।’  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै ८ नम्बर वडा दोर्पाका तारा आचार्यमा पनि सकरात्मक परिवर्तन आएको छ । ‘म अहिले आफ्नो बालबच्चा लाई कुट्न छाडेको छु’ तारालाई अर्को महत्वपुर्ण कुराको पनि जानकारी भएको छ– ‘मनोपरार्शकर्ताहरुले सिकाउनु भए अनुसार श्वासप्रश्वास विधि  र पानी पिउनाले धेरै पिर ,चिन्ता र तनाव कम हुनेरहेछ ।’ 
गएको १ बर्षमा सामि परियोजनाले आपतकालिन कोषबाट बैदेशिक रोजगारीका कारण अति प्रभाबित  १३ ब्यतिलाई ३८ हजार रुपैंयाँ बराबरको औषधि उपचारमा सहयोग गरेको थियो  ।  
                                                                   (राजभण्डारी स्वयम मनोपरामर्शकर्ता हुनुहुन्छ ।)