खोटाङ, मंसिर १८ । सोलुखुम्बु, ओखलढुंगा र खोटाङका सभाषदले सुनकोसी पुलको उदघाटनको मिति तोक्न भौतिक योजना तथा निर्माण मन्त्रालय समक्ष माग राखेका छन् । 
बुधबार भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलालाई ध्यानाकर्षणपत्र बुझाउँदै तीन जिल्लाका ६ जना सभाषदको टोलीले उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोसीको पक्की पुलको बाँकी काम पूरा गर्दै तत्काल उदघाटनका लागि मिति तोक्न माग गरेका हुन् । 
सोलुखुम्बका सभाषद बलबहादुर केसी, गोपाल गिरी, ओखलढुंगाका सभाषद यज्ञराज सुनुवार, सुरेन्द्र कार्की, शकुन्तला राजभण्डारी, हर्कबोल राई र खोटाङका सभाषद पिके राईको टोलीले छिटोभन्दा छिटो पुल उदघाटनको मिति निश्चित गर्न भौतिक योजना तथा निर्माण मन्त्रालय समक्ष आग्रह गर्नुभएको हो । 
यसअघि नै उदघाटन गर्ने भनिएको पुलको उदघाटन मिती बिभिन्न बाहनामा सार्ने काम भइरहेकाले लिखित ध्यानाकर्षण पत्र बुझाउनु परेको सभाषद पिके राईले बताउनुभयो । सुनकोसीको पक्की मोटरेबल पुलको प्रमुख तथा ठूला कामहरु सम्पन्न भइसकेपनि पुलको ओखलढुंगा हर्कपुरतर्फको स्ल्याव (मुख)लाई सडकसँग जोड्ने काम भने पूरा गर्न बाँकी नै छ । 
जग्गा प्लटिङ गरिएको क्षेत्रबाट सडक घुमाउने बखेडा झिकेर पुलको हर्कपुरतर्फको स्ल्याव ढलानमा ढिलाई गर्ने काम भइरहेको सभाषद राईले बताउनुभयो । केही समयअघि प्लटिङ क्षेत्रबाट सडक लैजाने विषयमा भएको बिवादमा १० दिनसम्म पुलको काममा अवरोध सिर्जना भएको थियो । निर्माणाधिन पुल ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको मूख्य प्रबेश द्धार हो । 
वाईवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले ५ वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष बित्न लाग्दा समेत पूरा हुन सकेको छैन । समयमा पुल निर्माण नहुँदाको प्रत्यक्ष अशर माथिल्लो सगरमाथाका ओखलढुंगा, सोलुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक बिकासमा समेत परिरहेको छ ।