मंसिर २१ । सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङका सशस्त्र प्रहरी नायव उपरीक्षक राजु पाण्डेमाथि हातपात गर्न खोज्ने तीन युवा पक्राउ परेका छन् ।
 बाँझेच्यानडाँडा–७ का २० वर्षीय सन्तोष राई, आख्रेडाँडागाँउ–७ का २१ वर्षीय तुफान राई र झापा जिल्लाको मेची नगरपालिका–१० का २३ वर्षीय सन्तोष लिम्बु पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरि सदरमुकाम दिक्तेलमा होहल्ला गर्दै हिडेका उनीहरुलाई सम्झाउनेक्रममा सप्रनाउ पाण्डेमाथि हातपात गर्न खोजेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरु दिउँसै मातेर जथाभावी बोल्दै हिँड्दै थिए, सम्झाउनेक्रममा एक्कासी डिएसपी साब’माथि हात हाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।’
पक्राउ परेका युवाहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका सहायक प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो । यादवका अनुसार शनिबार पक्राउ परेका उनीहरुविरुद्ध आइतबार मुद्दा दर्ता गरेर १५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
मातेर लट्ठिएका उनीहरुले गोर्खा वेलफेयर दिक्तेलको एक कार्यक्रममा सहभागी हुन सप्रनाउ पाण्डेसहित प्रमुख जिल्ला अधिकारी सापकोटा, जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेल र अनुसन्धान अधिकृत शितल राजवंशीविरुद्ध अपशब्द बोलेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुका अनुसार सदरमुकाम दिक्तेलको संगम् पार्कमा भएको घटनापछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।