खोटाङ साउन–१३,  खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मुटुरोगी पासाङ तामाङलाई ७ लाख ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ । मुटुको समस्या देखिएपछि काठमाण्डौंको बाँसबारीस्थित सहिद गंगालाल अस्पताल काठमाडौंमा उपचार गराइरहेका २० वर्षीय तामाङको सहयोगार्थ सञ्चालन गरिएको ‘पासाङ तामाङ बचाउ अभियान’मार्फत उक्त रकम संकलन भएको हो । 
मुटुको भल्व फेर्नुपर्ने भएपछि बिरामीका वुवा फूलकुमार र आमा बिमला तामाङले सहयोगको याचना गरेपछि जलेश्वरीकै माओदीप थुलुङको पहलमा संकलन भएको रकम प्रदान गरिएको छ । पासाङ बचाउ अभियानका क्रममा देशबिदेशबाट संकलन भएको रकम बिरामीका आमा बिमलालाई हस्तान्तरण गरिएको अभियन्ता थुलुङले बताउनुभयो । 
हाल वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा रहेका बाबु फूलकुमारले छोराको जीवन रक्षाका लागि सहयोगको याचना गरेपछि ‘पासाङ तामाङ बचाउ अभियान’ सञ्चालन गरिएको थियो । तामाङको गत साउन ४ गते मुटुको भल्भको शल्यक्रिया गरिएको छ ।