फागुन–१९, टेलीफोन टावरममा समस्या आएपछि जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारण सञ्चार बिहीन बनेका छन् । काहुलेस्थित हुम्मापोखरीमा रहेको टेलीफोन टावरमा समस्या आएपछि दक्षिणी क्षेत्रमा पर्ने दुई दर्जनबढि गाविसका सेवाग्राही सञ्चार बिहीन बनेका हुन् ।
टेलीफोन टावरमा समस्या आएपछि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, ईन्द्रणीपोखरी, वाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देविस्थान, पौवाशेरा, फाक्टाङ, बाराहापोखरी, सुन्तले लगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसका सेवाग्राही हप्तादिनदेखि सञ्चार बिहीन भएका सावाकटहरेकी कमला राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टावरमा समस्या आएपछि फोनमार्फत गरिने काम कुनैपनि भएको छैन, यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।”
काहुलेको टावरमा समस्या आएपछि उदयपुरको चित्रेमा रहेको टावरसँग लिङ्क गर्ने रेडियोमा समस्या  आएका कारण टेलीफोनमा समस्या आएको नेपाल टेलीकम शाखा कार्यालय खोटाङका प्रमुख भरोसी साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि ट्रान्समिशन विभाग बिराठनगरलाई जानकारी गराएर समाधानको पहल भइरहेको छ, चाँडै नै सञ्चालनमा आउने अपेक्षा गरेका छौं ।”
टावरमा समस्या आएपछि दक्षिणी क्षेत्रमा सञ्चालित सिडीएमए र जियसएम मोवाइल अवरुद्ध भएको छ । उक्त क्षेत्रमा यसअघि पनि पटक–पटक यस्तो समस्या आउने गरेको स्थानीयको भनाइ छ ।