बैसाख–२३, नेपाली कांग्रेस खोटाङको निर्माणाधिन पार्टी कार्यालयको पहिलो तलाको ढलान गरिएको छ । तीन वर्षअघि निर्माण सुरु गरिएको तीन तले भवनको पहिलो तलाको ढलानका काम सम्पन्न भएको हो । 
दुई करोड ९७ लाख ५६ हजारको लागतमा निर्माण सम्पन्न हुने भवनका लागि हालसम्म एक करोड खर्च भइसकेको भवन निर्माण उपसमितिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । बिपी स्मृति भवन नाम दिइएको ‘एल’ आकारको भवन निर्माणकालागि शान्ति तथा पुःर्ननिर्माण मन्त्रालयबाट दुई लाख ७५ हजार, शहरी बिकास मन्त्रालयबाट चार लाख र संसदीय बिकास कोषबाट तीन लाख प्राप्त भइसकेको राईले बताउनुभयो । बाँकी रकम पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा दाताहरुबाट जुटाउने काम भइरहेको निर्माण समितिले जनाएको छ । 
जिल्ला कमिटि, क्षेत्र, गाउँ तथा वडा कमिटिका नेता तथा कार्यकर्ता, शुभेच्छुक, सहयोगीबाट प्राप्त हुने रकमबाट निर्माण सुरु गरिएको भवन २०६९ सालमा कांग्रेसका केद्रीय सभापति शुशिल कोईरालाले शिलान्यास गरेका थिए । भवनको तीन तलालाई फरक–फरक नाम दिइने अध्यक्ष राईले बताउनुभयो । सबैभन्दा तल्लो तलालाई कालुमान स्मृति हलको नाम दिने टुंगो लागीसकेको छ । 
भवनको बाँकी काम पूरा गर्नकालागि रकम जुटाउनेक्रमलाई तिब्रता दिइएको कांग्रेसले जनाएको छ । ‘भर्खर भवनको एक तलाको ढलान गर्ने काम भएको छ,’ राईले भन्नुभयो, ‘बाँकी काम पूरा गर्नकालागि पनि हामी शुभेच्छुकमै निर्भर छौँ ।’ एमालेले पुष्पलाल स्मृति भवन बनाएको केही समयपछि कांग्रेसले पनि पार्टी कार्यालय बनाउन सुरु गरेको हो । 
कांग्रेस पार्टी कार्यालयमा ढलानका काम गर्दै कामदारहरु ।