खोटाङ भदौ–२, वैदेशिक रोजगारीका सिलसिलामा विशेषगरी खाडी मुलुक तथा मलेसियामा ज्यान गुमाएका खोटाङका ४६ मृतक परिवारले साँढे ५ करोडभन्दा बढि राहत तथा क्षतीपूर्ति प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले ज्यान गुमाएका मृतक परिवारले वैदेशिक रोजगार प्रबद्र्दन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपूर्र्ति स्वरुप ५ करोड ६५ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै रहँदा भएको विभिन्न प्रकृतिका दुर्घटना, सुतेकै ठाउँमा ज्यान गुमाएका, बिरामी परेर ज्यान गुमाएका परिवारलाई विभिन्न समयमा राहत तथा क्षतिपूर्ति दिलाईएको जनाईएको छ । पीडित परिवारलाई क्षतिपूर्ति तथा राहत दिलाउनका लागि जिल्लामा रहेर सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजना सामीले सहयोग गरेका थिए । 
राहत तथा क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न तथा कागजात तयार पार्न सामीले सहयोग गर्दै आएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रका परामर्शकर्ता अम्बीका दाहालले बताउनुभयो ।  परियोजनाले सन् २०११ यता वैदेशिक रोजगारीका सिलसिलामा ठगीमा परेका जिल्लाका ६७ पीडितलाई ३९ लाख ९६ हजार ५ सय क्षतीपुर्ती दिलाउन, खाडी तथा मलेसियामा अलपत्र ९६ जनालाई उद्धार गर्न समेत परियोजनाले सहयोग गरेको जनाईएको छ । 
यस्तै, ५ सय ७१ वटा केसमा कानुनी सहायता प्रदान गरिएको, मेडिकल फेल भएका ३ जनालाई २ लाख ९२ हजार क्षतीपूर्ति दिलाउने र एजेण्टले होल्ड गरेका २७ वटा पासपोर्ट फिर्ता गराउन समेत सुरक्षित आप्रवासन परियोजनाले सहजिकरण गरेको परामर्शकर्ता दाहालको भनाई छ ।  
परियोजनासँगको सहकार्यमा जिल्लास्थित वालसेवा समाज नेपाल नेर्पा र नवकिरण सेवा समाज दुर्छिमले वैदेशिक रोजगारीलाई सुरक्षित वनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।